२०८२ माघ १३ गते मंगलवार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले चारजना मन्त्रीहरूलाई पुनर्नियुक्ति गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले ऊर्जामन्त्रीमा टोपबहादुर रायमाझी, सहरी विकासमन्त्रीमा प्रभु साह, उद्योग, वाणिज्य तथा आपूर्तिमा लेखराज भट्ट र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा गौरीशंकर चौधरीलाई पुनर्नियुक्ति गरेकी हुन् ।
नेकपा माओवादी केन्द्रले रायमाझी, साह, चौधरी र भट्टले केन्द्र परित्याग गरेको सूचना सोमबार संसद् सचिवाललाई दिएको थियो । सोही पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रले पठाएको पत्रको आधारमा चार सांसद पदमुक्त भएको जानकारी गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुने व्यवस्था छ ।
संविधानअनुसार उनीहरू सांसद नरहेपछि मन्त्री पद पनि स्वतः गुमेको थियो । तर संविधानमा सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चारै जनालाई फेरि मन्त्री पदमा नियुक्त गरेर शपथका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेका थिए। चारै जना मन्त्रीले आजै बेलुकी ५ बजे राष्ट्रपति निवास शीतलनिवासमा शपथ लिने कार्यक्रम छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij