२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले निलम्बन गरेका एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै २०७५ साल जेठ २ को अवस्थामा पार्टी फर्किनुपर्ने बताएका छन् ।
आज विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले २०७५ साल जेठ २ गतेमा प्रधानमन्त्री केपी ओलीलगायत अष्टलक्ष्मी शाक्य, वामदेव गौतम, भीम रावल, युवराज गौतम सबै निर्वाचित रहेको बुझ्नु आवश्यक रहेको बताएका हुन् । सबैको पद समाप्त हुने र ओलीको पद कायम रहनै नसक्ने नेपालको भनाइ थियो ।
‘ओलीजी पूरै अवैधानिक कदम चालेर पार्टी विधानविपरीत काम गर्नु भएको छ,’ उनले भने, ‘विधानविपरीत काम गर्नेलाई साथ दिने दास हुन्, हामी दास होइनौं, ओलीजीको मुख हेरेर होइन माक्र्सवाद र लेनिनवादबाट प्रेरित भएर आन्दोलनमा अगाडि बढेका हौं ।’
गलत प्रवृत्तिको मूलवाहक ओली प्रवृत्तिबाट देशले मुक्ति पाओस् भन्ने चाहनाले पार्टीका नेता तथा कार्यकर्तामा आशा जगाउन एकताबद्ध अभियानमा अघि बढेको नेपालले बताए । ‘ओलीजीले पार्टीका साथै देशलाई बेहाल, अस्तव्यवस्त बनाइदिएका छन्,’ उनले भने, ‘देशलाई राम्रो बनाउनका लागि हामीसँग आबद्ध भएका नेता तथा कार्यकर्तालाई पार्टीमा नयाँ उत्साह, उर्जा, उमंग दिन एकता अभियानमा छौं ।’
पार्टीमाा कारबाही भएपछि सबै नेता तथा कार्यकर्तालाई निराश र हतास नभई पार्टीमा लागिरहनका लागि एकताबद्ध गरिरहेको नेपालको भनाइ थियो ।‘पार्टीमा एउटा व्यक्ति सबै थोक होइनन् त्यसैले व्यक्ति आउँछन्, जान्छन् भन्ने मान्यताको विकास गर्न चाहन्छौं । कम्युनिस्ट पार्टी नीति र विचार प्रधान हुन्छ व्यक्ति प्रधान हुँदैनन्,’ उनले भने, ‘ओलीजीले भक्तजन, भजनमण्डलीबाहेक कसैलाई पनि सहन गर्न सक्नुहुन्न उहाँमा असहिष्णुताको प्रवृत्ति चरम उत्कर्षमा पुगेको छ ।’
‘केशरजंग रायमाझीले कम्युनिस्ट पार्टीलाई दरबारमा बुझाइदिएका थिए अब ओलीले दलाल पूँजीवादी वा भ्रष्टाचारी वा स्वदेशी विदेशी प्रतिक्रियावादीहरुलाई बुझाउने हो कि आउने दिनमा त्यो प्रस्ट हुन्छ,’ नेपालले भने । नेपालले मुलुकको राजनीतिक निकासका लागि निर्वाचनमा गइहाल्ने बेला नभएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij