२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । भर्खर सम्पन्न भएको स्थानीय तह उपनिर्वाचनको नतिजाबाट निकै उत्साहित भएको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट जनपरिचालनका विस्तृत कार्यक्रम ल्याउने भएको छ ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले चुनावी नतिजाबारे रिपोर्टिङसहित प्रारम्भिक समीक्षा गरेको हो । निर्वाचनको नतिजा उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
‘आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको छ । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको छ,’ बैठकपछि सापकोटाले भने, ‘यसले अब आगामी निर्वाचनमा आफ्नै एजेन्डा र पहिचानसहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष हो ।’
यसअघि पार्टीले जितेका रुकुम पूर्वको पुथाउत्तरगंगा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय मतका हिसाबले दोस्रो हुनुलाई माओवादीले उपलब्धिको रूपमा लिएको छ ।
भएभरका सबै दलहरू मिलेर गठबन्धन गर्दा पनि रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भारी मन्तान्तरले विजयी हुनु, त्यहाँको वडामा निर्विरोध हुनु, जाजरकोटको नलगाड नगरपालिका, मोरङको ग्रामथान गाउँपालिका, नुवाकोट, उदयपुर, गोरखा, धनुषा, डोल्पाका वडाहरू लगायतका ठाउँमा भारी मतान्तरले विजयी हुनु, पहिले तेस्रोमा पनि निकै कमजोर स्थितिमा रहेको काठमाडौँको कीर्तिपुरमा नगरपालिका सहित १२ ठाउँमा उल्लेख्य मतसहित दोस्रो हुनु आदिलाई पार्टीले जनतामा माओवादीप्रति बढेको विश्वास र उत्साहको रूपमा लिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
सबै पालिकामा खबरदारी सभा गर्ने
मङ्सिर १२ गते बसेको पदाधिकारी बैठकले ७५३ वटै पालिकामा सम्मेलन गर्न कार्यविधि बनाएर पठाएको थियो । सम्मेलन र खबरदारी सभाका कार्यक्रम सँगसँगै लैजाने सापकोटाले बताए । प्रत्येक पालिकामा केन्द्रीय नेताहरू सहभागी भएर व्यवस्थित ढंगले सरकारलाई खबरदारी गर्ने उनले योजना सुनाए । स्थानीय तह उपनिर्वाचनको नतिजाले एक्लै चुनाव जित्न सक्ने आधार दिएकाले पार्टीले अब मिसन–०८४ को अभियान थाल्ने सापकोटाले बताए ।
‘खबरदारी सभाबारे स्थायी समिति र केन्द्रीय समिति बैठकमा बृहत् छलफल गरी कार्यक्रम बनाएर जान्छौँ । मिसन ०८४ मा होमिनेछौँ । यसका लागि निकै मेहनतसाथ तयारीमा लाग्छौँ । स्थानीय तहको चुनावी परिणामले आधार दिएको छ । बिचमा हामी केही अलमलिएका हौँ, केही बरालिएका हौँ । अहिले आएर जनता र हाम्रो मन एकै ठाउँमा भएको जस्तो भएको छ,’ उनले भने ।
माओवादीले जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्णसमानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री नभई विज्ञ मन्त्रीको एजेण्डासहित विचार, राजनीति र कार्यदिशा लिएर जाने तयारीमा रहेको उनको भनाइ छ ।
पार्टीको आगामी कार्यदिशा, कार्यक्रमबारे छलफल गर्न माओवादीले मङ्सिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । यसअघि बसेको बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो । खबरदारी सभा गर्ने जिम्मा प्रदेशलाई दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij