२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । ओली सरकार बिस्थापित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)सँग संयुक्त छलफल गर्ने भएको छ ।
नयाँ सरकार गठनमा अनिर्णित भएको आरोप खेपेको कांग्रेसले शुक्रबार दुई बजेपछि जसपा र माओवादीसँग बस्न लागेको हो ।
स्रोतका अनुसार यी दुई पार्टीको अन्तिम निर्णय यस छलफलबाट लिने तयारी कांग्रेसले गरेको छ ।
स्रोतले भन्यो,‘ सभापति देउवाले शुक्रबार जसपा र माओवादीसँग छलफल गर्ने तयारीमा हुनुहुन्छ । नयाँ सरकार गठनमै छलफल केन्द्रीत हुनेछ ।’
यसैबिच देउवालाई आज माओवादी केन्द्रका प्रवक्त नारायणकाजी श्रेष्ठले भेटेर सरकार गठनमा ढिलाई नगर्न आग्रह गरेका छन् ।
श्रेष्ठले भने,‘कांग्रेस सभापति देउवालाई जतिसक्दो सरकार गठनको नेतृत्व लिन सुझाव दिइएको छ । उहाँले छिटोभन्दा छिटो यो काम टुंग्याउने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।’
छलफलका क्रममा माओवादीले पहिले केपी ओली नेतृत्वको सरकारलाई दिइरहेको समर्थन फिर्ता लिनुपर्ने अडान देउवाले राखेका थिए ।
श्रेष्ठले आफूहरुले सरकारको समर्थन जतिबेला पनि लिन सक्ने भएकाले त्यसमा ढुक्क हुन आश्वासन दिएका थिए ।
अर्कोतिर माओवादीले जसपालाई मनाउने प्रयास जारी राखेको छ । शुक्रबार बिहान जसपाका उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठसँग छलफलको तयारी माओवादीले गरेको छ ।
पार्टी कार्यक्रममा जनकपुरमा रहेका यादव आज साँझ मात्रै काठमाडौँ आउने भएका छन् । उनी आए पछि भोली ओली सरकारलाई बिधाई गर्ने गरिको निर्णय हुने श्रोतको भनाई छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij