२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिका सबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गत शनिबार यस संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई झन्डै ८० करोड रुपैयाँ ठगेको आरोपका पक्राउ गरेको थियो। उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।
उनलाई पक्राउ गरेपछि प्रहरीले यस संस्थाका सञ्चालक समितिमा रहेका सबै जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलका प्रहरी उपरीक्षक ९एसपी० प्रज्वल महर्जनले जानकारी दिए। नौ जना पक्राउ परेका छन्।
उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको परिसरले जनाएको छ।
'संस्था चलाउने जति सबैको भूमिका हुन्छ। कसले कति भन्ने निकाल्न बाँकी छ,' उनले भने, 'अनुसन्धानपछि कसले कति ठगी गर्यो भन्ने खुल्छ। त्यही अनुसार मुद्दा अघि बढ्छ।'
दिवाकर लगायतले सर्वसाधारणलाई संस्थामा रकम जम्मा गराई बढी ब्याज दिने आश्वासन दिएका थिए। आश्वासन दिएर झन्डै ८० करोड रकम ठगी गरेको (एसपी) महर्जनले जानकारी दिए।
अहिलेसम्म ७९ करोड ८९ लाख ६४ हजार ५ सय २० रुपैयाँ ठगी गरेको ललितपुर परिसरमा उजुरी परेको छ। तर योभन्दा पनि बढी ठगी गरिसकेको हुनुपर्ने ललितपुर परिसरले आशंका गरेको छ।
उनीहरूविरूद्ध संस्थागत एवं व्यक्तिगत निक्षेपकर्ताहरूले चैत ५ गते जाहेरी दिएका थिए। अहिलेसम्म ६२ जनाको उजुरी आएको परिसरले जनाएको छ। सहकारी ऐन २०७४ र ठगीसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij