२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सकेसम्म कसैसँग सहकार्य वा गठबन्धन नगरेरै चुनाव लड्ने तयारी गरेको छ ।
स्थानीय तहका अध्यक्ष,उपाध्यक्ष, मेयर उपमेयर, जिल्ला समन्वय समिति प्रमुख र वडाध्यक्ष गरी ४४ वटा पदमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको समय मंसिर २ गतेलाई तोकिएको छ ।
उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै सो पार्टीले निर्वाचनको आन्तरिक तयारी गरेपनि कुन कुन पदमा एकल उम्मेदवार उठाउने र कहाँकहाँ अरू पार्टीसँग सहकार्य गर्ने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन ।
तर, पार्टीका नेताहरूले उपनिर्वाचनमा सकेसम्म एक्लै चुनाव लड्ने र त्यो अवस्था नभए विपक्षी दलहरूसँग मिलेर निर्वाचन लड्ने तयारी भएपनि अन्तिम निर्णय भैनसकेको बताएका छन् ।
सो पार्टीले गत भदौ महिनामै स्थानीय तह उपनिर्वाचनमा जित्ने स्थानीय तहको पहिचान गर्न मातहतका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
उपनिर्वाचनको मिति घोषणा नहुँदै महासचिव घनश्याम भुसालले सर्कुलर जारी गर्दै नेता तथा कार्यकर्तालाई उपनिर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका थिए ।
विगत संसदीय निर्वाचनमा प्रयोग भएको मतदाता नामावली हेरेर छुटेका नाम थप्ने कार्यमा लाग्न पार्टी कमिटीलाई महासचिव भुसालले सर्कुलरमार्फत भनेका थिए ।
‘निर्वाचन हुने स्थानीय तहमा हाम्रो पार्टीको अवस्था र वस्तुस्थितिको कस्तो छ रु निर्वाचनमा खडा गरिने उम्मेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन रु त्यसको तथ्यपरक विश्लेषण गरी पठाउने,’ भुसालले जारी गरेको सर्कुलरमा भनिएको थियो ।
उक्त निर्देशनअनुसार मातहतका कमिटीहरूले रिपोर्ट पेस गरिसकेको निर्वाचन परिचालन कमिटीका संयोजक समेत रहेका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘मातहतका कमिटीले रिपोर्ट पठाइसकेका छन् । त्यसको अध्ययन हुँदैछ । अध्ययनपछि कात्तिक २५ गतेसम्ममा कहाँकहाँ उम्मेदवारी दिने र कहाँ कहाँ अरू दलसँग सहकार्य गर्ने भन्ने टुङ्गो लाग्छ’, पाण्डेले रातोपाटीसँग भने, ‘सकेसम्म एक्लै लड्ने हो नभए केही स्थानमा माओवादी लगायतका दलहरूसँग सहकार्य पनि हुन सक्छ ।’
उपनिर्वाचनका लागि एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको नेतृत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गर्दै उपनिर्वाचनका लागि निर्वाचन आयोग हेर्ने गरी नेता पाण्डे र उपमहासचिव एवं केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईलाई जिम्मा दिइएको थियो ।
‘हामी उपनिर्वाचनको तयारी गरिरहेका छौँ। ४४ पदमा मतदान हुँदैछ । त्यसमध्ये निर्वाचन नै जित्नेगरी १० ठाउँ हाम्रो उम्मेदवारी हुन्छ’, पाण्डेले रातोपाटीसँग भने, ‘कतिपय ठाउँमा प्रचार हुनेगरी उम्मेदवार खडा गर्छौ ।’
‘अध्यक्ष देश बाहिर हुनुहुन्छ । आइतबार फर्कनुहुन्छ उहाँ फर्केपछिमात्र उपनिर्वाचनबारे ठोस निर्णय हुन्छ’, एक पदाधिकारीले भने, ‘मधेस प्रदेशका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि लगभग उम्मेदवार पनि तयार छन्, त्यहाँ पार्टीले एक्लै चुनाव लड्ने निश्चित जस्तै छ तर आधिकारिक निर्णय गर्न बाँकी छ ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij