२०८२ कार्तिक १९ गते बुधवार
सरकारले गरेको भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै नेकपा माओवादी केन्द्रले शनिबार संघीय राजधानी काठमाडौँमा खबरदारी सभा आयोजना गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतको सहभागितामा आयोजित जुलुस कोणसभामा परिणत हुँदै सकिएको हो।
पार्टीको बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा आयोजित जुलुस र सभालाई सम्बोधन गर्ने क्रममा नेताहरूले यो सभालाई बेवास्ता गरेर सरकार नसच्चिए आफूहरू आन्दोलनका अन्य विकल्प खोज्ने चेतावनी दिए।
दुई दलीय शासन व्यवस्थाले असर गरेको, जनताको पीडामा सरकारले काम गर्न नसकेको, भ्रष्ट र दलालहरूको संरक्षणमा लागेकोदेखि सहकारी प्रकरणमा सरकारको रवैया ठिक नभएकोसम्म सभामा बोल्ने नेताहरूको भाषणका सारांश हुन्।
दाहालले काठमाडौंमा आयोजना गरिएको खबरदारी सभाकै प्रकृतिका सभा आयोजना गर्ने कार्यतालिका बनाएर पार्टीका तल्लो तहलाई परिपत्र गर्ने तयारी गरिएको बताए । ‘यो खबरदारी सभालाई अब देशका सबै पालिकामा, देशका सबै वडामा हामी कार्यक्रम बनाएर पठाउने छौँ,’ दाहालले भने ।
‘आज छोटो समयको सूचनामा तपाईंहरुको अपार उपस्थिति र उत्साहले हामीलाई नयाँ ऊर्जा दिएको छ, नयाँ आन्दोलनका निम्ति, नयाँ अभियानका निम्ति ! हामी हतारोमा छैनौँ,’ दाहालले भने, ‘तर, जनतासँग मिलेर एउटा नयाँ अभियानमार्फत् समाजवादी क्रान्तिको आधार तयार पर्ने सङ्कल्पमा छौँ । यसलाई कसैले खेलाँची नठानोस् ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij