Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

बनाउँदा बनाउँदै भत्कियो ठिमुरा–देवघाट जोड्ने नारायणीको निर्माणाधीन पुल

बनाउँदा बनाउँदै भत्कियो ठिमुरा–देवघाट जोड्ने नारायणीको निर्माणाधीन पुल


  • 5.8K
    Shares

    बनाउँदा बनाउँदै भत्कियो ठिमुरा–देवघाट जोड्ने नारायणीको निर्माणाधीन पुल

    चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ । भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको हो। पुलको लम्बाइ २२० मिटर र चौडाइ ८५ मिटर रहेको थियो ।

    ठेकेदारको लापरबाहीका कारण पुल भत्किएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताएका छन् । ‘प्राविधिक त्रुटीका कारण भत्किएको हो’, उनले भने, ‘प्राविधिकको टीमले अध्ययन गरेपछि वास्तविकता थाहा होला, यो पुलको काम असार मसान्तभित्र सक्नेगरी अघि बढेको थियो ।’

    भौतिक प्रगति ७५ प्रतिशत पुगिसकेको अवस्थामा आज बिहान पुल भत्किएको उनले बताए । आउँदो असारमा निर्माण सम्पन्न गर्ने तयारीमा रहेको पुल आज भत्किएको हो। पुल के कारणले पुल भत्कियो भन्ने विषयमा अध्ययन गर्न आज नै छलफल हुँदैछ । प्राविधिक समितिले भत्किनुको कारण पत्ता लगाउनेछ ।

    यता, सडक डिभिजन भरतपुरका इन्जिनियर विजय दराईले सोमबार गएको भूकम्पका कारण जमिन थर्किएर पुल भत्किएको हुनसक्ने बताएका छन् । पुलमा ४ वटा स्पान राखिँदैछ। तीन वटा कंक्रिटको छ भने नदीको बीचमा पर्ने गरी एउटा फलामको स्पान राखिएको छ । 

    ‘भूकम्पको थोरै असर पर्‍यो, त्यसलाई चर्काइदिएपछि भत्किएको हो कि भन्ने हाम्रो प्रारम्भिक अनुमान छ’, दराईले भने, ‘तथ्य तथ्य प्राविधिक टीमले हेरेपछि आउला नि !’ कंक्रिट स्पानको लम्बाइ ४० मिटर रहेको छ भने फलामको स्पान ८० मिटर राखिएको छ।

    पुलको ढलान २१ दिन अगाडि गरिएको थियो। करिब ८० मिटर पुल भत्किएको उनले जानकारी दिए । पुल निर्माणमा वर्षौंसम्म ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनी एडभेन्चर कन्स्ट्रक्सनलाई सरकारले पटक–पटक म्याद थप गर्दै आएको थियो। 

    त्रिशूली नदी किनारमा पर्ने देवघाट–ठिमुरा पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग २०७० साल कात्तिक २० गते १९ करोड ३१ लाख रूपैयाँ लागतमा सम्झौता भएको थियो। तीन वर्षको म्याद सकिने बेलामा पुलको डिजाइन परिवर्तन भयो। डिजाइन परिवर्तन हुँदा सरकारलाई दुई करोड २८ लाख रूपैयाँ थप भार परेको थियो।

    डिजाइन परिवर्तन गरेपछि २०७६ वैशाखसम्मको म्याद दिइएको थियो । २०७६ पुसमा खरिद ऐन संशोधन भएर आएपछि देवघाट–ठिमुरा पुल निर्माण गर्ने ठेकेदारले पनि फेरि एक वर्षको म्याद थप पायो । 

    २०७६ फागुनदेखि म्याद थप भएर पुनः काम सुरू गरेको ठेकेदारले एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। प्रतिबद्धता जनाएको एक वर्ष पनि गएको फागुनमा सकिएर यता आएको हो । पछिल्लो पटक ठेकेदारले असारमा काम सक्ने बताएको थियो ।

    प्रकाशित मिति :चैत्र २४ २०७७ मंगलवार - ११:३७:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij