२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका छन् ।
लगानी बोर्डको ५९औँ बैठकमा बोर्डका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरूपमा काम गर्न आग्रह गरेका हुन् ।
‘हामीले सामान्य सुधार (रिफर्म) होइन, रूपान्तरण नै गर्नुपर्छ । पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब चल्दैन । बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्छ ।’,
प्रधानमन्त्री ओलीले भने, ‘यताबाट उता फाइल पठाउने र अध्ययन–विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ ।’
बैठकमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबाट प्रस्तुत आगामी चार वर्षका लागि रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति दिएको छ ।
यस्तै बैठकमा चालु तथा कार्यान्वयनको चरणमा रहेका, सम्झौता र मूल्याङ्कनका चरणमा रहेका विभिन्न परियोजनाबारे जानकारी गराइएको थियो । प्रधानमन्त्री ओली र प्रमुख कार्यकारी ज्ञवाली नियुक्त भएपछि बोर्डको यो पहिलो बैठक हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij