२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयप्रति पार्टीका शीर्ष नेताहरूले असन्तुष्टि जनाएका छन् । बिहीबार लिङ्देनले पार्टीको कार्यविभाजन गरेपछि उनीहरूले असन्तुष्टि जनाएका हुन् ।
अध्यक्षले गरेको नयाँ कार्यविभाजनप्रति मुख्यतः पार्टी पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी र वर्तमान महामन्त्री धवलशमशेर राणा असन्तुष्ट बनेका हुन् ।
लिङ्देनले गरेको कार्यविभाजनले महामन्त्री राणा पार्टी संगठन विभाग प्रमुखबाट मुक्त भएका छन् । उनलाई अध्यक्षले पदमुक्त गरेका हुन् ।
राणालाई हटाएर वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ । यसअघि तामाङ राजनीतिक विभाग प्रमुख थिए । स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता तथा पार्टी उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई नियुक्त गरिएको छ ।
राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापालाई जिम्मेवारी तोकिएको छ ।
सूचना प्रविधि विभाग (आईटी) प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने छन् । महामन्त्रीलाई कुनै जिम्मेवारी नतोकेपछि पार्टीमा विवाद बढेको छ भने अध्यक्षको निर्णयप्रति राप्रपा पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij