२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आंकलन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’
यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५७४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो (परीक्षणका आधारमा संक्रमितको अनुपात) ३५ प्रतिशत थियो ।
भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको समेत मन्त्री त्रिपाठीले बताए । पुनः लकडाउनमा जान नपरोस् भनेर अपनाउनुपर्ने सबै प्रभावकारी कदम अपनाउन सरकार तयार रहेको भन्दै उनले अघि भने, ‘अहिलेको नेपालको अवस्था आतंकित हुनुपर्ने छैन ।’
यता काठमाडौं जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार बसेको समिति बैठकले उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने र यसको व्यवस्थापन सम्बन्धी नगरपालीकाले मिलाउने निर्णय गरेको हो । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्यवस्थापन मिलाउने र सम्पर्क व्यक्ति तोक्नु पर्ने व्यवस्था गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
बैठकले नाकामा एन्टीजेन परीक्षण गर्नका लागि एन्टीजेन किट स्वास्थ्य कार्यालयलाई उपलब्ध गराउन र यदि एन्टीजेन परीक्षणबाट नेगेटिभ देखिएको तर व्यक्तिमा लक्षण देखिएर शंकास्पद लागेमा पीसीआर टेस्टका लागि स्वाब संकलन गरी पठाउनसमेत समितिले निर्देशन दिएको छ । बैठकले नगरपालिकाहरुमा सञ्चालित आइसोलेशन केन्द्र र क्वारेन्टाइन सेन्टरहरुलाई अध्यावधिक गर्न र नगरपालिकाहरुलाई आ(आफ्नो नगरपालिका भित्र एक-एक वटा आइशोलेसन र क्वारेन्टाइनको व्यवस्थापन गर्न अनुरोध गरेको पराजुलीले जानकारी दिए ।
त्यस्तै कोरोना फैलना नदिन जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, बिद्यालयमा माक्स र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्ने निर्णय पनि समितिले गरेको छ । त्यस्तै सार्वजनिक कार्यक्रम पनि सम्न्धीत निकायको अनुमतिबेगर गर्न नपाइने निर्णय समितिले गरेको छ । समितिले मास्क बितरण गर्ने, साार्वजनिक यातायातमा अनुगमन गर्ने र माक्स लगाउन अभिप्रेरित गर्ने लगाएतका कार्यलाई तीव्रताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij