२०८२ कार्तिक १९ गते बुधवार
काठमाडौं । देशका सबैभन्दा ठूला एवं जनमतसिद्ध तीन पार्टी उपनेताविहीन छन् । २०७९ को आमनिर्वाचयता कांग्रेस, एमाले र माओवादी केन्द्र संसदीय दलको उपनेताविहीन छन् ।
निर्वाचन सम्पन्न भएको तीन वर्षमा पनि यी ठूला तीन दलले संसदीय दलको उपनेता चयन गरेका छैनन् । निर्वाचनबाट निर्वाचित सांसदहरूले आफ्नो दलको नेता, उपनेता चयन गर्नैपर्ने राजनीतिक दलसम्बन्धी ऐन–२०७३ मा उल्लेख गरिएको छ ।
जसअनुसार संघीय संसद् र प्रदेश सभामा कम्तीमा दुई स्थानमा निर्वाचित हुने दलले संघ र प्रदेश संसदीय दल गठन गर्नसक्ने व्यवस्था गरिएको छ । तर, २०७९ को आमनिर्वाचन सम्पन्न भएयता ती ठूला दलहरूले हालसम्म उपनेता चयन गरेका छैनन् ।
तर, उक्त ऐनलाई दलहरूले लत्याइरहेका छन् । सबैभन्दा ठूलो दल कांग्रेसले हालसम्म उपनेता चयन गरेको छैन । संसदीय दलको नेता पार्टी सभापति शेरबहादुर देउवा छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले २०७९ को निर्वाचन सम्पन्न भएपश्चात् हालसम्म उपनेता चयन गरेका छैनन् । देउवा स्वयं २०७९ पुस ६ मा संसदीय दलको नेतामा निर्चाचित भएका थिए ।
दलको नेताका लागि कांग्रेसले निर्वाचन नै गरेको थियो । उक्त निर्वाचनमा उनका प्रतिस्पर्धी पार्टी महामन्त्री गगनकुमार थापा पराजित भए । उपनेताका लागि कांग्रेसमा पूर्णबहादुर खड्का, विमलेन्द्र निधि र डा.शशांक कोइराला आकांक्षी छन् । यद्यपि कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो भएकोले उपनेताका लागि पनि निर्वाचन हुनसक्ने राजनीतिक वृत्तमा चर्चा छ ।
त्यस्तै एमाले उपाध्यक्ष एवं संसदीय दलको उपनेता सुवास नेम्वाङको निधन गत वर्षको भदौ २६ मा भएको थियो । त्यसयता एमालेमा पनि उक्त पद खाली छ । उपनेताका लागि अध्यक्ष केपी शर्मा ओली हालसम्म बेखबर जस्तै देखिएका छन् । उपनेताको पद खाली भएको एक वर्ष पुग्दा पनि एमालेमा यसबारे कुनै चासो देखिँदैन ।
पार्टीमा ओलीको एकल राज हुने भएकोले उनले उपनेताको टीका जसलाई लगाइदिन्छन् । उनै उपनेता बन्नेमा दुविधा देखिँदैन । एमालेमा उपेक्षामा परेको आन्तरिक लोकतन्त्रले उपनेताका लागि निर्वाचन गर्न नसक्नेमा नेताहरू ढुक्क छन् ।
सो पदका लागि उपाध्यक्षद्वय विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङ आकांक्षी देखिएका छन् । संसदीय दलको नेतामा अध्यक्ष ओली २०७९ पुस ५ गते सर्वसम्मत चयन भएका थिए ।
त्यस्तै माओवादी केन्द्रमा पनि संसदीय दलको उपनेता पद रिक्त छ । अध्यक्ष प्रचण्ड २०७९ पुस ७ गते सर्वसम्मत दलको नेता चयन भएका थिए । आमनिर्वाचन यता माओवादी केन्द्रले उपनेता चयन गरेको छैन । माओवादीमा पनि आन्तरिक लोकतन्त्र मृत जस्तै भएकोले प्रचण्डले नै उपनेता तोक्नेमा दुविधा छैन ।
उपनेताका लागि माओवादीमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन आकांक्षी छन् । तर, उनीहरूको आकांक्षाभन्दा पनि अध्यक्ष प्रचण्डले कसलाई उपनेता चयन गर्छन्, यसै भन्न सकिँदैन ।
गत निर्वाचन सकिएलगत्तै संसद्का १४ दलहरूमध्ये ठूला तीन दलबाहेक साना दलहरूले संसदीय दलका नेता, उपनेता चयन गरिसकेका छन् । संसदीय दलको नेता अनुपस्थिति हुँदा उपनेताले संसदीय दलको वैठकको अध्यक्षता गर्नुपर्ने हुन्छ ।
दलको नेताको अनुपस्थितिमा बैठकबाट निर्णय गर्नुपरे समन्वय गर्ने अधिकार पनि उपनेतालाई नै रहेको हुन्छ । संसदीय दलको नेतामाथि अविश्वास प्रस्ताव आएमा छलफल गर्दा उक्त बैठकमा उपनेताले अध्यक्षता गर्ने अधिकार प्राप्त छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij