२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु प्रधानमन्त्रीमाथि आक्रामक रुपमा प्रस्तुत भएका छन्।
खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार गरेको १६५ वटा निर्वाचन क्षेत्र स्तरीय रणनीतिक सडक पूर्वाधारहरुको एकैपटक शुभारम्भ (शिलान्यास) माथि कांग्रेस सांसदले प्रश्न उठाएका हुन् ।
बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद भरतकुमार शाहले डीपीआरविनै प्रधानमन्त्री ओलीले एकसाथ १६५ सडक शिलन्यास गरेकोमा आपत्ति जनाए।
‘प्रधानमन्त्रीले भर्खरै रणनीतिक महत्वका १६५ सडक शिलान्याश गर्नुभएको छ। न एलाइनमेन्ट छ। न डीपीआर छ । शिलान्यासको यति रहर हो भने रेडबुक एकैपटक नै शिलान्याश गरिदिए भइहाल्यो। किन यस्तो गर्नुपर्यो,’ उनले भने ।
कांग्रेसका अर्का सांसद भीमसेन दास प्रधानले सदनमा उपस्थित नभएर प्रधानमन्त्रीले बाहिर बोल्दै हिँड्नु गैर जिम्मेवार, अराजनीतिक र असंवैधानिक भएको बताए ।
‘प्रतिपक्षले प्रधानमन्त्रीले राजीनामा मागेको छ । सातौं बैठक पुग्दा पनि सम्बोधन गरेको अवस्था छैन। विघटनलाई राष्ट्रपतिकहाँ लगेर पुष्ट्याइ गर्न खोजेको देखियो । बिजनेस दिएन भन्ने छ,’ उनले भने, ‘आफूलाई लागेको कुरा संसदमा आएर राख्ने कुरा बाहिर बोल्नु गलत छ ।’
उनले सरकारमाथि उठेका प्रश्नमाथि संसदमा आएर बोल्न प्रधानमन्त्रीलाई आग्रह गरे।
सांसद मीना सुब्बाले कोरोनाको दोस्रो भेरियन्ट बढ्दा पनि सरकार आफ्नै आन्तरिक बाँसुरीको धुनमा बसिरहेको टिप्पणी गरिन्।
‘हिजोको गल्ती सच्याउने सुरमा पनि छैन। भारतमा निरन्तर कोरोना बढिरहेको छ। भारतबाट फर्किनेको पीसीआर गरेको छैन। यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
सांसद रंगमती शाहीले पनि सडक शिलान्यासमा आपत्ति जनाइन्। यसलाई नौटंकीको संज्ञा दिइन ।
‘तयारी नगरी बालुवाटारमा स्वीच थिचेर शिलन्याश गर्नुहुन्छ। यो त नौटंकी नै हो,’ उनले भनिन्, ‘संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ। बालुवाटार पनि सरकारी निवास हो। अब बालकोटमै राज गर्दा राम्रो होला धन्यवाद।’
सांसद राजेन्द्र कुमार केसीले पनि सडकको शिलन्यासमा आपत्ति जनाए ।
‘हालसम्म पनि कतिपय सडक योजनाको पहिचान नभएको, डीपिआर, साइट क्लियर छैन। यस्तो अवस्थामा कुन सडकको शिलन्यास गर्नुभएको हो कृपया प्रधानमन्त्रीले बताइदिनुहुन्छ किरु,’ उनले प्रश्न गरे ।
सांसद राजबहादुर बुढाथोकीले सदन भेन्टिलेटरमा राखिएको विरामीजस्तो देखिएको बताए। सांसद रामबहादुर विष्टले म्यानमारमा छिट्टै प्रजातन्त्र बहाली होस, सैनिक सरकारको अन्त्य होस् भनी कामना गरे ।
बैठकको सुरुवातमा सभामुख अग्नि सापकोटाले निधन भएका एमाले समानुपातिक सांसद सानु शिवाको ठाउँमा जानकी देवी रामलाई सांसद नियुक्त गरिएको जानकारी गराएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij