२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढ्न थालेपछि त्यसको प्रभाब नेपालमा समेत पर्न थालेको छ। कोरोना संक्रमणलाई न्यूनीकरण गर्न काठमाडौं प्रहरीले मुख्य उपत्यकाका चोकहरुमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम शुरु गरेको छ ।
सोमबार जोरपाटी, महाराजगञ्ज, नयाँ बानेश्वर र रत्नपार्क सहित १४ ठाउँमा डिएसपी नेतृत्वको टोलीले माइकिङ गरेर कोरोनाबाट जोगिन सचेतना अपनाउन आग्रह गरेको छ ।
प्रहरीले माइकिङ गरेर मास्क, सेनिटाईजर र सामजिक दुरी कायम गर्न आग्रह गरेको छ । प्रहरीले काठमाडौंका चोकमा सचेतनामूलक अडियो पनि बजाएर कोरोना विरुद्ध सचेतना जगाएका छन् । गृह मन्त्रालयले सचेतना कार्यक्रम गर्न देशभरका स्थानिय प्रशासनलाई निर्देशन दिएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंले सो कार्यक्रम गरेको हो ।
पहिलो चरणमा सचेतना अभियान शुरु गरेको प्रहरीले दोस्रो चरणमा सार्वजनिक ठाउँमा मास्क नलगाई हिँड्नेलाई जरिवाना गर्ने भएको छ ।
पहिले सचेत गराएपछि जरिवाना गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए । ‘अहिले सचेतना गराएका छौं’, प्रजिअ पराजुलीले भने, ‘जनतालाई सचेत गराएपछि अनि, हामी जरिवानामा जान्छौं ।’
संक्रामक रोग ऐन–०२० अनुसार रोग फैलनबाट रोक्न सिडिओलाई जरिवाना गर्ने अधिकार छ । मास्क नलगाए १ सय रुपैयाँ जरिवाना गरिने सिडियो पराजुलीले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij