२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओली निकट भनेर चिनिएका सांसद गोकुल बास्कोटाले संसदमा ओलीको भद्दा प्रशंशा गरेपछि संसदमै कांग्रेसका सभापति शेरबहादुर देउवा निकट सांसद सदस्य देवेन्द्रराज कँडेलले सांसद गोकुल बास्कोटालाई ‘जस्ता गुरु उस्तै चेला’ भन्दै टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनीभन्दा अघि बोलेका एमाले सांसद बास्कोटाप्रति यस्तो टिप्प्णी गरेका हुन् । उनीअघि बोलेका बास्कोटाले सरकार, प्रधानमन्त्री केपी शर्मा ओलीका काम र प्रतिनिधि सभा विघटनसम्मको समर्थनमा आफ्ना धारणा राखेका थिए । कँडेलले विशेष समयमा ‘जस्ता गुरु त्यस्तै चेला’ भन्दै बोल्न सुरु गरेका थिए ।
उनले गत निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शेरबहादर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री भन्दै भाषण गरेको समेत स्मरण गरे । ‘गत निर्वाचनमा होमिँदा गोरखामा आयोजित आमसभामा सम्बोधन गदै प्रधानमन्त्री ओलीले भन्नु भएको थियो । नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री देउवा हो । उहाँले मिती पनि तोक्नु भयो । पछिल्लो क्रममा हामीलाई आफैलाई लाज लाग्छ,’ उनले भने, ‘जसले आफ्ना पार्टीमा आफ्नै साथीहरूलाई पन्छ्याउँदै अघि बढेको अवस्था छ । उहाँलाई कुर्सीको पीडा छ । कुनै पनि हालतमा नछोड्ने । यदि यस्तै अवस्था रह्यो भने एमालेको अन्तिम प्रधानमन्त्री ओली नै रहनेछन् ।’ उनले सरकारले विश्वासको मत लिनुपर्ने समेत बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij