२०८२ कार्तिक २० गते बिहिवार
काठमाठौं । देशैभर लगातार तीन दिनदेखि परेको अविरल वर्षाले ठूलो धनजनको क्षति पुर्याएको छ । वर्षासँगै आएको बाडी–पहिरोमा परी हालसम्म १४८ जनाको मृत्यु भएको छ भने १०१ घाइते र ५५ बेपत्ता भएको केन्द्रीय प्रहरी परिचालन (विपद् डेस्क)ले जनाएको छ ।
उक्त डेक्सका अनुसार ६६६१ जनाको उद्धार गरिएको छ । अझैँ बाढी–पहिरोमा परेकाहरूको उद्धारकार्य जारी छ । यस्तोबेला जनताले सरकारको आवश्यकता महसुस गरेका छन् । तर, सरकार भने संघीय राजधानी काठमाडौं जस्तो सुविधासम्पन्न ठाउँको नख्खु बाढीमा फसेकाहरूको बेलैमा उद्धार गर्न नसक्दा चौतर्फी आलोचना भएको छ भने दुईजना हालसम्म बेपत्ता छन् ।
यस्तोबेला राष्ट्र र सरकारको अभिभावक प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा छन् । उनी सामाजिक सञ्जालमार्फत विपद् व्यवस्थापन र उद्धारकार्यका लागि आग्रह, अनुरोध र निर्देशन दिन्छन् भने पीडितलाई दिनहुँ सान्त्वना दिइरहेका छन् । यस्तोबेला स्देश फर्किएर उद्धारकार्यमा सम्बन्धित पक्षलाई निर्देशन दिनुको साटो सञ्जालमार्फत भावनात्मक पोष्टले प्रधानमन्त्रीको ओजमा आँच पुर्याएको छ ।
उनले उद्धारका लागि नेपाली सेना, प्रहरी र सशस्त्र बलका सुरक्षाकर्मीलाई उद्धार कार्यमा खटिएको बताएका छन् । विपद्को बेला आपत आइलागे सुरक्षा निकायलाई सम्पर्क गर्नसमेत आग्रह गरेका छन् ।
ओलीले लेखेका छन्, ‘बाढी पहिरोबाट उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी साथीहरु कार्य क्षेत्रमा खटिरहनु भएको छ । विपद्को उद्धारका लागि सुरक्षा निकायलाई सम्पर्क गर्ने नम्बरहरू सार्वजनिक गरिएको छ । तोकिएको नम्बरमा सुरक्षाकर्मीलाई सम्पर्क गरौं र उहाँहरुलाई सबैले सहयोग गरौं । बाढी पहिरोको प्रभावमा परेको ठाउँको सूचना तत्काल सुरक्षाकर्मीसम्म पुर्याउन मद्दत गरौं ।’
वर्षाले क्षति गर्नासाथ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखकलगायत मुख्य सचिवसँग उद्धारका लागि समन्वय गरिएको उनले जानकारी गराएका छन् ।
सरकारले देशैभर हजारौं उद्धारकर्मी तैनाथ गरेको बताएका थिए । उनले मौसमविद्सँग मौसम पूर्वानुमानबारे जानकारी लिएरै आज दिउँसोसम्म वर्षा रोकिने बताएका थिए । प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारी गरेको पनि बताएका थिए ।
‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु,’ प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन् । उनले स्वदेश फर्किने बाचा गरेको दुई दिन बित्दा पनि फर्किने कुनै छाँट देखिएन । उनी पूर्वनिर्धारित समयमा फर्किने पक्का छ ।
देशैभर पछिल्लो तीन दिनयता परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी सयौँको ज्यान गएको छ । यस्तोबेला प्रधानमन्त्रीले नै स्वदेश फर्किने भन्दै ढाँट्नु आफ्नै जनतालाई धोका दिनु हो ।
संयुक्त राष्ट्रसंघको महासभाको महत्त्वपूर्ण कार्यक्रम बिहीबार नै सम्पन्न भइसकेका थिए । उनले चाहेको भए सकभर त्यसैदिन नभए शुक्रबार वा शनिबार स्वदेश फर्किन सक्थे । ओलीले अन्य सहायक कार्यक्रमलाई मुख्य ठानेर स्वदेश फर्किन मानेनन् । उनी भोलि फर्किने कार्यतालिका छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij