२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । हुण्डी कारोबारी समातिएको समाचार बग्रेल्ती आउछन् । प्रहरीले समात्ने अदालतले छोड्ने गरेपछि हुण्डी कारोबारीलाई लुकामारी खेलेझैँ हुन थालेको छ।
गत साउनदेखि फागुन मसान्तसम्म पर्सामा हुन्डी कारोबारमा संलग्न अभियोगमा १४ जना पक्राउ परेका थिए। तर यसरी अभियोग लागेकाहरुमध्ये १२ जना रिहा भइसकेका छन्।
नरम कानूनको कारण अवैध वित्तीय कारोबार गर्नेहरू पक्राउ परे तापनि खुसुखुसु रिहा हुने गरेको पछिल्लो तथ्यांकले देखाउँछ। पर्सा प्रहरीका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार पर्सा प्रहरीले पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्दा पनि आर्थिक कसूरमा नेपालको कानून उदार (नरम) भएकोले प्रायःजसो अभियुक्तहरू धरौटीमा रिहा हुन्छन्।
चालू आवको पछिल्लो ८ महिनामा ११ वटा मुद्दामा १४ जना पक्राउ पर्दा ५४ लाख ६९ हजार ६२० रुपैयाँ र १२ हजार ६ सय भारतीय रुपैयाँ बरामद भएको थियो। जसमध्ये दुईजना मात्र थुनामा गएको र १२ जना रिहा भएको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए।
त्यसैगरी गत आव २०७६र०७७ को १२ महिनामा २४ वटा हुन्डीसम्बन्धी मुद्दा दर्ता भएको थियो। जसमा २० जना नेपाली नागरिक, १८ जना विदेशी नागरिक पक्राउ परेका थिए भने एक करोड ८१ लाख ६२ हजार ९५ रुपैयाँ नगद बरामद भएको थियो। त्यस्तै एउटा घटनामा भारू १२ लाखसहित एक जना भारतीय पक्राउ परेका थिए । जिल्ला न्यायाधिवक्ता पर्साका सहायक जिल्ला न्यायाधिवक्ता दिपेशप्रसाद साहका अनुसार अवैध वित्तीय कारोबारको कसूरमा ५ वर्ष कैद वा बिगोको तीन गुना धरौटीको व्यवस्था रहेकोले कतिपय अभियुक्तहरू धरौटी बुझाएर रिहा हुने गरेको जनाए । अवैध वित्तीय कारोबार अर्थात् हुन्डीको मुद्दा पनि अदालतमा प्रमाणित गर्न चुनौतीपूर्ण हुँदा पक्राउ परे तापनि केही अभियुक्तहरू मात्र थुनामा जाने साहले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij