२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश भाँडिए सह्य नहुने चेतावनी दिएका छन् । सैनिकमञ्च टुँडिखेलमा आयोजित संविधान दिवस दिवसलाई सम्बोधन गर्दै युवाहरूलाई देश भाँडियो भने सह्य नहुने चेतावनी दिएका हुन् ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै भने, ‘तपाईंहरूभित्र केही गरौं भन्ने जुन आगो बलिरहेको छ, त्यसलाई समाजमा आगो लगाउँछु भन्नेहरूबाट बचाउनु होला । तपाईंहरूमा केही गरौं भन्ने जुन हुटहुटी छ, त्यसलाई समाजमा हुलमुल गराउन खोज्नेहरूबाट जोगाउनु होला । समाजमा थिति बस्यो, समाज सभ्य भयो, अशिष्टहरूले मिच्न पाएनन् भने विकास त हामी गर्छौँ, गर्छौँ । सुशासन कायम त हामी गर्छौँ, गर्छौँ । तर, याद गरौँ, देश भाँडियो भने, अशिष्टहरूले अराजकता मच्चाउन अलिकति मात्र मौका पाए भने हामी पुस्तौंपुस्ता पछि पर्नेछौं ।’
उनले आफूहरुले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल नभएको समेत बताएका थिए । उनले थपे, ‘पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज हो। यस्तो नमुना समाज जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ। जहाँ सुखसहितको समृद्धि हुनेछ । हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो । त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो ।’
यसअघि टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गर्दा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी भएको थियो । त्यसयता उनी युवाहरूप्रति आक्रोशित बन्दै आएका छन् ।
उनले काठमाडौं महानगरका मेयर बालेन र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उक्साउने पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको आरोप लगाएका थिए । त्यसको केही हप्ता पश्चात् अर्थात् हिजो (बुधबार) काठमाडौं जिल्ला अतालतले प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ भने उनी हालसम्म पक्राउ परेका छैनन् ।
पछिल्लो समय प्रधानमन्त्री विभिन्न सार्वजनिक कार्यक्रममा जाँदा निकै सतर्क बन्ने गरेका छन् । उनले बंगलादेशको अवस्था नेपाल प्रवेश गर्नसक्ने भयबाट झनै सतर्क हुँदै आएका छन् । केही महिना पहिले बंगलादेशमा युवा तथा विद्यार्थीको आन्दोलनले प्रधानमन्त्री शेख हसिना भारतमा निवास जीवन बिताउनु परेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij