२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को विवाद समाधानका लागि माओवादी पदाधिकारीबीच छलफल सुरू भएको छ । छलफल पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (बिहीबार) बिहानदेखि सुरू भएको माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) निकट उक्त संघठनको २३औँ राष्ट्रिय सम्मेलनबारे निर्णय गर्न पार्टी पदाधिकारीहरूबीच छलफल भइरहेको सापकोटाले बताए । यहीँ असोज २ देखि ५ गतेसम्म काठमाडौंमा हुने भनिएको सम्मेलन तयारी नपुगेको कारण देखाउँदै स्थगित भएको थियो ।
बुधबार अनेरास्ववियु (क्रान्तिकारी)को बैठक निष्कर्षविहीन भएपछि आज पार्टी पदाधिकारीबीच छलफल हुँदैछ । माओवादी केन्द्रको विद्यार्थी संगठनमा उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माको गुट केन्द्रदेखि तल्लो स्तरसम्म प्रष्ट देखा परेको छ ।
यी दुई गुटबीच विवाद सतहमा आएपछि सम्मेलन अनिश्चित बनेको छ । त्यसका लागि निष्कर्षमा पुग्न पार्टी पदाधिकारी बैठक पेरिसडाँडामा बसेको हो । यद्यपि यो समाचार तयार पार्दासम्म कुनै निर्णय भएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij