२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै (राष्ट्रिय, प्रतिनिधि) सदनको बैठक आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ ।
आज (आइतबार) बस्ने राष्ट्रिय सभा बैठकमा सम्भावित दैनिक कार्यसूची अन्तर्गत प्रश्नोत्तर कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले उत्तर दिने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने छन् ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘विकास आर्थिक मामिला तथा सुशासन समितिको आव ०८०–०८१’ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्नेछन् ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गर्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव शिक्षामन्त्रीले नै प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले बताए ।

त्यसैगरी आजै प्रतिनिधिसभाको बैठक बस्दैछ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९–०८०’ पेस गर्नेछन् ।
उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यस्तै उक्त विधेयक र विधायन विधेयक, २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रस्ताव प्रस्तुत गर्नेछन् । कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन विधेयक, २०८० माथि छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।
राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक १ः०० बस्नेछ ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij