२०८२ कार्तिक २१ गते शुक्रवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ मा संसदमा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले आउँदो असोज ४ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जानुअघि संसद्लाई जानकारी गराउँदै समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीले संसदमा उक्त कुराको जानकारी गराउँदै प्रतिपक्षी दलहरू लक्षित अभिव्यक्ति दिनसक्ने आकलन गरिएको छ । किनकि सत्तामा हुँदा प्रतिपक्षीमाथि खनिने र प्रतिपक्षी हुँदा सत्तापक्षमाथि खनिने उनको पुरानै प्रवृत्ति हो ।
उनको त्यो प्रवृत्ति यसपटकको सम्बोधनमा पनि दोहोरिन सक्ने कतिपयले आकलन गरेका छन् । प्रधानमन्त्रीको प्रवृत्तिमाथि प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ ११ मा संसदमा संम्बोधन गरेका थिए ।
उनको सम्बोधनप्रति सत्तापक्षका अधिकांश सांसदले विरोध जनाएका थिए । प्रधानमन्त्री ओलीले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले संवैधानिक परम्परा मिचेको समेत अरोप लगाउँदै आएका छन् । उनले सरकारको १०० दिन नपुग्दै संसदलाई सम्बोधन गर्नु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।
उनका पछिल्ला अभिव्यक्ति र प्रचण्डको सम्बोधनलाई काउन्टर दिँदै ओलीले भदौ ३१ मा संसदलाई सम्बोधन गर्ने देखिन्छ । प्रधानमन्त्रीले प्रचण्डले संसदबाट भ्रम फैलाएको समेत बताउँदै आएका छन् । प्रचण्डले गरेको सम्बोधनको प्रतिवादसहितको सम्बोधन गर्ने आकलन गरिएको छ ।
त्यस्तै सम्बोधनकै क्रममा उनले रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि अभिव्यक्ति दिन सक्छन् । किनकि यतिबेला उपसभामुखको विषयलाई लिएर विवाद बढेको छ । यस्तोबेला रविलाई पनि सम्बोधनमार्फत कटाक्ष गर्न सक्छन् भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको राजतन्त्र र हिन्दुराष्ट्रसहितको एजेण्डाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको असहमति नै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij