Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

कन्सल्टेन्सीको ठगी धन्दा, पैसा फिर्ता माग्दा प्रहरीकै अगाडि गरे अपहरण

कन्सल्टेन्सीको ठगी धन्दा, पैसा फिर्ता माग्दा प्रहरीकै अगाडि गरे अपहरण


  • 5.6K
    Shares

    कन्सल्टेन्सीको ठगी धन्दा, पैसा फिर्ता माग्दा प्रहरीकै अगाडि गरे अपहरण

    काठमाडौं । बैतडीका लोकेन्द्र साउँद (२३) ले अनेक प्रयत्न गर्दा पनि जागिर पाएनन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । अनि उनले विकल्प रोजे– वैदेशिक रोजगारीमा जाने । सोही क्रममा काठमाडौं आए । म्यानपावर र एजेन्टकहाँ धाउन थाले । 

    उनको भेट एक्टिभ इम्प्लोई सर्भिस प्रालिका सञ्चालक सुरज गजुरेलसँग भयो । एक्टिभ मेनपावर कम्पनी होइन । यो कन्सलटेन्सी (परामर्शदाता) कम्पनी हो। साउँदलाई कन्सलटेन्सीले रोजगारीका लागि विदेश पठाउन पाउँदैन भन्ने थाहा थिएन । उनलाई जसरी हुन्छ, विदेश जानु थियो र पैसा कमाउनु थियो । 

    गजुरेलले दुबईमा राम्रो आम्दानी हुने कामको अफर आएको सुनाएपछि साउँद जान तयार भए । त्यसका लागि भिजिट भिसामा जानुपर्ने गजुरेलको सर्त थियो । साउँदले स्वीकार गरे । गजुरेललाई तीन लाख ६० हजार रुपैयाँ बुझाए । 

    गजुरेलसँग नियमित सम्पर्कमा रहेका साउँद जतिसक्दो छिटो विदेश उड्न चाहन्थे । तर एक वर्ष बित्दासमेत गजुरेलले दुबई पठाउने संकेत नदेखाएपछि साउँद तनावमा परे । उनी भन्छन्, ‘ऋण गरेर बुझाएको पैसा फसेको थियो । ब्याज बढिरहेको थियो । कामको टुंगो थिएन ।’ 

    गजुरेलसँग पैसा उठाउन उनले अनेक प्रयत्न गरे । बल्लतल्ल भेटिएका गजुरेलले थप ढेड लाख रुपैयाँ दिए दुबई पठाउने प्रस्ताव गरे । साउँद भन्छन्, ‘त्यत्रो रकम फसिसकेको थियो । थप फसाउन चाहिनँ ।’ साउँदले दुबई जाने सपना देख्न छाडे । बरु फसेको रकम उठाउने ध्याउन्नमा थिए उनी । यसका लागि उनले प्रहरीको सहारा लिए ।

    सिभिल ड्रेसका प्रहरीका साथमा उनी गजुरेललाई भेट्न पुगे । चाबहिलको केएल टावरमा बोलाएका गजुरेलले साउँदलाई सिभिल ड्रेसका प्रहरीकै अगाडि अपहरण गरे । उनलाई अपरहरण गरेर बोद्ध आरुबारी पुर्‍याइएको थियो ।

    साउँद भन्छन्, ‘फिल्मी शैलीमा मलाई जबरजस्ती ट्याक्सीमा हाले । मानसिक यातना दिँदै आरुबारी लगे ।’ उनलाई त्यति बेला पैसा त गयो नै ज्यान पनि जाने भयो भन्ने चिन्ता थपियो । ‘प्रहरीले ती अपहरणकारीलाई पक्राउ गरेर मलाई उद्धार गर्‍यो’, साउँद भन्छन् । 

    पक्राउ परेका सञ्चालक गजुरेल र उनका सहयोगीलाई फौजदारी अभियोगमा मुद्दा चलाउने तयारी भएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । एक्टिभ इम्प्लोई सर्भिस प्रालिका विषयमा अनुसन्धान गर्दा उक्त कम्पनी वैदेशिक रोजगार विभागमा दर्ता नभएको उनको भनाइ छ । 

    गजुरेलले यसअघि पनि विदेश पठाइदिने प्रलोभनमा पैसा उठाएर दुई करोडभन्दा बढी रकम ठगेको दाहाल बताउँछन् । दाहाल भन्छन्, ‘केही युवालाई भिजिट भिसामा पठाएर उतै अलपत्र बनाएका रहेछन् ।’ उक्त कम्पनीमा प्रहरीले छापा मार्दा सयौंको संख्यामा राहदानी बरामद भएको विभागले जनाएको छ ।

    महानिर्देशक दाहालका अनुसार एक्टिभ इम्प्लोई सर्भिस प्रालि कसल्टेन्सीका रूपमा खोलिएको संस्था हो । कन्सलटेन्सीले रोजगारीका लागि मान्छे विदेश पठाउन पाउँदैनन् । 

    लकडाउनयता कन्सलटेन्सी नै यस्तो धन्दामा सक्रिय भएको दाहाल बताउँछन् । मंसिरयता विभागले ४२ वटा संस्थामा छापा मारेकोमा २९ वटा कन्सलटेन्सी मात्रै छन् । ती कन्सलटेन्सीबाट सयौंको राहदानी बरामद गरिएको छ ।

    शैक्षिक परामर्श दिन खोलिएका कन्सलटेन्सी नै भिजिट भिसामा धमाधम मान्छे विदेश पठाउने र हजारौं युवालाई ठग्ने धन्दामा सक्रिय भएका छन् । यस्ता कन्सलटेन्सीमाथि निगरानी नबढाउने हो भने वैदेशिक रोजगारीमा नाममा थप ठगी धन्दा मौलाउनेछ । 

    प्रकाशित मिति :चैत्र २२ २०७७ आइतवार - ११:३५:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij