२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । एमाले पृष्ठभूमिका प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेमाथि प्रतिपक्षी सांसदहरूले प्रश्न उठाएका छन् ।
माओवादी सांसदहरूले सभामुखको कार्यशैली सत्ता र प्रतिपक्षी जोड्ने सेतु नभई दलीय रंग देखाएको भन्दै प्रश्न उठाएका हुन् ।
भदौ १२ गते विशेष समयमा बोल्ने क्रममा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र युद्धलाई ‘हिंसा’को संज्ञा दिएपछि माओवादी सांसदहरूले आपत्ति जनाएका थिए । त्यसबेला माओवादी र एमालेका नेता सांसदहरु भनाभनमा उत्रिएपछि सभामुख देवराज घिमिरेले छानिबन गर्ने आश्वासन दिएर बैठकको कामकारबाही अघि बढाएका थिए ।
बुधबारको बैठकमा शून्य समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि सभामुखले ‘हिंसा’ भन्ने शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपछि माओवादी सांसदहरु फेरि आक्रोशित बनेका थिए ।
त्यसपछि संसद् बैठक माओवादीले अवरुद्ध गरेपछि आगामी ३० गतेका लागि स्थगित भएको छ । बैठक स्थगित भएलगत्तै संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केही माओवादी सांसदले सभामुख देवराज घिमिरेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।
उनीहरू आक्रोशित हुँदै जनयुद्धको अपमान गरेको र एमाले सांसद योगेश भट्टराईले गल्ती स्वीकार्नुपर्ने बताए । यसका साथै उनीहरूले सभामुख सभामुख नभई एमालेमुख भएको आरोप लगाए । सभामुख सत्ता र प्रतिपक्षीलाई मिलाएर लैजनानुको साटो उल्टै दलीय रंग देखाएर संसद् बैठक आफ्नो तजबिजीमा चलाएको समेत आरोप लगाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij