२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै पछिल्ला घटनाक्रमबारे असन्तुष्टि जनाएका छन् ।
उपसभामुख इन्दिरा रानामगरको राजीनामा माग्न दबाब बढेको र पोखरामा आफूमाथि शृंखलाबद्ध विरोध भइरहेको भन्दै लामिछानेले असन्तोष जनाएका हुन् ।
मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका लामिछानेले प्रतिनिधिसभामा मंगलबार उपसभामुख लक्षित टिप्पणीहरु भएको भन्दै त्यो रोकिनुपर्ने आग्रह गरेका थिए ।
गत वर्ष उपसभामुख रानाले संसदको लेटरप्याड दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई अनधिकृत चिठी लेखेकी थिइन् । जसमा उनले संसद र आफ्नो सचिवालयसँग कुनै सम्बन्ध नरहेका छ जना व्यक्तिलाई अमेरिका पठाउन प्रयास गरिएको थियो ।
उनले त्यो पत्रमा दूतावाससमक्ष भिसा अन्तर्वार्ताको मिति मिलाइदिन आग्रह गरेकी थिइन् । त्यस क्रममा पैसाको लेनदेन भएका विषयसमेत अनुसन्धानको क्रममा बाहिर आइसकेका छन् ।
यो विषय खुलासा भएसँगै रानाको पदीय दुरुपयोगबारे सांसदहरुले निरन्तर चासो देखाउँदै आएका छन् । उपसभामुखले पदीय गरिमा राख्न नसकेको, उल्टै संसद्को मानमर्दन गरेको भन्दै प्रतिनिधिसभामा उनीहरुले प्रश्न उठाएका छन् । लामिछानेले राजनीतिक प्रतिशोध साँध्ने नियतवश उक्त प्रश्नहरू उठेको आरोप लगाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij