२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् ।
उपसभामुख रानामगर काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्रलाई आधार बनाएर सत्तारूढ दलहरूले हटाउने तयारी गरेका हुन् ।
मंगलबारको संसद् बैठकमा पनि उपसभामुख रानाको पक्ष–विपक्षमा सांसदह–ले आ–आफ्नो धारणा राखेका थिए ।
सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले उपसभामुख रानालाई हटाउने निर्णय गरेको थियो ।
सो निर्णयअनुसार नै सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), जसपा नेपाल, जसपा, नाउपा र लोसपाको समर्थनमा उपसभामुखलाई हटाउने प्रस्ताव दर्ता गर्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार दुईतिहाइ सांसदहरूको हस्ताक्षरसहित उपसभामुख रानालाई हटाउने प्रस्ताव दर्ता गर्ने बताइएको छ । यसका लागि मंगलबारदेखि नै सांसदहरूको हस्ताक्षर संकलनको काम भइरहेको बुझिएको छ ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १८४ सांसदले समर्थन गरेमा उपसभामुखलाई हटाउने प्रस्ताव पारित हुने छ । हाल सत्तारुढ दलहरुमा कांग्रेसका ८८, एमालेका ७८, जसपाका ७, जनमतका ६, जसपा नेपालका ५, नाउपाका ४ र लोसपाका ४ गरि १९२ सांसद रहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij