२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा विभिन्न पदमा पराजित नेताहरू एमालेमा फर्किने आशंका गरिएको छ । उनीहरूले उक्त महाधिवेशनमा शीर्ष नेतृत्वबाटै आफूहरूलाई पराजित गराउन चिट बाँडेको भन्दै असन्तुष्टि जनाएपछि एमालेमा फर्किने आशंका गरिएको हो ।
रामकुमारी झाँक्री लगायतका नेताहरू भर्खरै सम्पन्न केन्द्रीय समितिको पूर्णबैठकले गरेको पदाधिकारी निर्वाचनमा पराजित भएका छन् । त्यसयता उनीहरू पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका छन् भने शीर्ष नेतृत्वसँग असन्तुष्ट देखिन्छन् ।
रामकुमारीले विभिन्न टेलिभिजन लगायतका कार्यक्रममा सार्वजनिक रूपमै असन्तुष्टि जनाउँदै आएकी छन् । पार्टी उपाध्यक्षमा जयन्ती राईसँग पराजित उनी आजभोलि पार्टीप्रति नै असन्तुष्टि रहेको बताउँछिन् ।
केही नेताहरू एमालेमा फर्किने तयारी गरिरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमाले नेता भीम रावल र वामदेव गौतमसँग एकता प्रयास गरिरहेका छन् । उनीहरू बेलाबेला छेको पारेर भेटवार्ता गरिरहेको एकीकृत समाजवादीका एक नेता बताउँछन् ।
रावल र गौतमसँग नेपालले दुईपटक भेटवार्ता गरिसकेका छन् । भेटवार्तामा दुवै नेताहरूलाई पार्टीमा भित्र्याउनेबारे छलफल भइरहेको एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले बताए ।
उनले भने– ‘भीम रावलजीले हालसम्म कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँले पार्टी प्रवेश गर्ने वा नगर्ने भन्नेबारे आधिकारिक धारणा राख्नु भएको छैन । तर, छलफल सकारात्मक नै छ । बरू वामदेवजीले पद पनि खोज्नु भएको छ । उहाँले वरिष्ठ उपाध्यक्ष भएको भए राम्रो हुन्थ्यो भन्नु भएको छ । तर, उक्त पदमा खाली नभएकोले सम्भावना छैन । तथापि वामदेवजी हाम्रो पार्टीमा फर्किने चाह राख्नु भएको छ ।’
एमाले १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँग भिडेपछि रावल पार्टीमा सक्रिए छैनन् । गौतम भने एमालेमा फर्किने सोचे पनि ओलीले फर्किन दिएका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij