२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं उपत्यकामा आजबाट वितरण गरिएको छ ।
शुक्रबार बिहानदेखि बालाजुस्थित रिजरभ्वायरबाट उपभोक्ताका लागि वितरण सुरु गरिएको हो । खानेपानी गत आइतबारबाट परीक्षणका रुपमा वितरण गर्न थालिएको भएपनि औपचारिक शुभारम्भ भने राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै एक समारोहका बीच गर्दै हुनुहुन्छ ।
काठमाडौंमा विशेष कार्यक्रम गरी उत्सवका रुपमा पानी वितरणको औपचारिक शुभारम्भ गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान बालाजु पानी पोखरीबाट खानेपानी छोडिएपछि नयाँ बजार, सोह्रखुट्टे र ठमेल लगायतका क्षेत्रको उपभोक्ताले पानी पाएका आयोजनाका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले जानकारी दिनु भएको छ ।
काठमाडौंको मिनभवन,अनामनगर,महांकाल,खुमलटारको पानी ट्यांकीबाट पनि पानी वितरण भएको छ । काठमाडौं खानेपानी लिमिटेडका प्रवक्ता प्रकाश राईका अनुसार आजदेखि काठमाडौं उपत्यकामा दैनिक करीव ८ करोड लिटर खानेपानी वितरण गरिने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij