सम्वत् २०८१ साउन ३२ गते ।
मलेखु र मुग्लिन पार भए । आयो डुम्रे बजार । तुर्तुरे आयो, अर्चलधारा आयो र आयो अन्तिममा चितीखोला ।
चितीखोला चाहिँ हाम्रो गन्तव्य ।
कतै बाढीको प्रकोप त कतै पहिरो । बर्सातमा अवरुद्घ भइरहन्छन् हाम्रा राजमार्ग । जोखिम मोलेरै निस्केका थियौँ सहयात्री बोधराज भण्डारी र म । यस्तो बेलामा पनि हुटहुटी जगाउने त उनी नै थिए ।
तनहुँको अर्चलधाराबाट १ कि. मि. को दूरीमा छ– चितीखोला । वारि पहाड, पारि पहाड । पहाडै पहाड । पहाडबीचमा बसेको छ– सुन्दर उपत्यका । उपत्यकाको बीच भागबाट बगिरहेछ चितीखोला । खोलाकै नामबाट रहेको छ– बस्तीको नाम अर्थात् चितीखोला ।
सागौनले ढाकिएको पहाड, त्यही पहाडको काखमा बसेको बस्ती । कान्ला कान्लामा खण्डित छ जमिनको सतह । परम्परागत शैलीमा ठडिएको घर छ, एउटा कान्लामा । बाहिरबाट साइन बोर्ड देखिएन । तर हामीलाई पठाइएको तस्वीर जस्तै लाग्यो, त्यो घरको आकृति । अलिकति उघ्रिएको अवस्थामा रहेको प्रवेशद्वारबाट चिहाएर हे¥यौँ ।
“हो कि जस्तो छ, भित्रै छिर्ने हो कि” भनेँ मैले ।
अर्काको कम्पाउन्डभित्र छिर्दा अलिकति भय उत्पन्न भएथ्यो मनमा । भित्रपट्टि झुन्ड्याइएको नामपाटीमा लेखिएको रहेछ– ग्रीन हिमालय फार्मस्टे ।
ग्रामीण जीवनको श्रेष्य वास्तुकला प्रतिविम्बित गर्दछ– ढुङ्गा बिछ्याइएको आँगन, पिँढी, घुमेको बार्दलीले । ढिकी, जाँतो, हलो, जुवा र कुटो–कोदालो गाउँले जीवनको सार हुन् । कङ्क्रिटको जङ्गलबाट फार्महाउस छिर्नासाथ आफ्नै गाउँले जीवनको झलझली याद गरायो मलाई ।
यस्तै घर थियो हाम्रो । बिहान सबेरै उठेर ढिकी जाँतो गर्थिन् आमा । गाई दुहुन्थिन् । दैलो–कसेर गर्थिन् । आफूले सकेको काम सघाउँथ्यौँ दाइ, दिदी र म । घाँस काट्थ्यौँ । गोठालो जान्थ्यौँ । भकारो सोहोथ्र्यौं ।
०००
विभिन्न प्रजातिका फूलहरूको जीवन्त प्रदर्शन हो, ग्रीन फार्मस्टेको वाटिका । जताततै फूलैफूल । यत्रतत्र सौरभ । चारैतिर आँखा डुलाएँ । फूलहरू के के छन् भन्नु भन्दा पनि के चाहिँ छैन भनेर हेरेँ मैले । तुलसी, जाई, पारिजात, लालुपाते, सयपत्री, गुलमोहर, कल्की, मखमली, बेली, इन्द्रकमल, सर्वदा, रङ्वदना, चतुराले, गुर्दौली र धुर्सिल; के के हो के के ।
कान्ला उक्लने कोसिस गर्दैछन् जयन्ती लहराहरू । बैँस कोरलिरहेका छन् सेता र गुलाब । फूलहरूको संसार भन्दा पनि हुन्छ । रङ्गीन, सुगन्धित शान्त र आरामदायी वातावरण । प्रकृतिसँग जोडिनका लागि एक आदर्श स्थलझैँ लाग्छ फार्मस्टे । बगैँचाको बीच भागमा बनाइएको छ– ‘हर्ट सेप्ट फोटो फ्रेम’ ।
अर्को सुन्दर पक्ष हो– बगैँचाको लेन सजावट । लेनको रचनात्मकता र फूलहरूको छनौटले आगन्तुकहरूलाई संवेदी अनुभव गराउँछ र यसले ग्रीन हिमालय फार्मस्टेमा उनीहरूको बसाइँलाई अविस्मरणीय बनाउँछ ।
त्यसैको पल्लो छेउमा मगर परम्परा झल्काउने घुमाउने घर छ । तनहुँमा मगर समुदायको सङ्ख्या उल्लेख्य छ । गोलाकार घर उनीहरूको परम्परागत जीवनशैली र सांस्कृतिक सम्पदा झल्काउने एउटा विशिष्ट वास्तुकला हो । ढुङ्गा र काठजस्ता प्राकृतिक सामग्रीहरू प्रयोग गरेर बनाइएका यी घरहरू सामान्यतया गोलाकार हुन्छन् ।
उनीहरूका यस्ता घरहरूमा स्थानीय कलाकृति सुन्दर ढङ्गले सजाइएका हुन्छन् । घुमाउरो पिँढीमा ढिकी र जातो छन् । भित्तामा हलो, जुवा, घुम र छत्रीलाई अड्याइएका छन् । यी घरहरू बसोबास गर्ने ठाउँ मात्र नभई मगर समुदायको प्रकृतिसँगको सम्बन्ध र उनीहरूको परम्परागत जीवन शैलीको प्रतिनिधित्व पनि हुन् ।
बगैँचामा मुस्कुराइरहेका बर्खे फूलहरूलाई सुम्सुम्याउँदै गर्दा फुत्त बाहिर निस्के फार्मस्टेमा कार्यरत एक जवान । नाम रहेछ– प्रेम खत्री । स्वागत गर्दै उनले हामीलाई पिँढीमा बसाए । भान्छातिर छिरेका उनी निस्कँदा मही र भुटेको मकै ल्याए ।
फेरि बालवयतिर पुगेँ म ।
केटाकेटी छँदा मेरो खाजा नै मही र मकै हुन्थ्यो । गोठालोबाट फर्केपछि गाईवस्तु बाँध्नेबित्तिकै तनतनी पिउँथेँ एक बटुको मही र गर्यामगर्याम चपाउँथें थालभरिको मकै ।
हामीले महीमकै खाँदै गर्दा आइपुगे न्यानो मुस्कान छर्दै राजेन्द्र पाण्डे र गीता अधिकारी । उनीहरू ग्रीन हिमालय फार्मस्टेका सञ्चालक ।
परिचय साट्यौँ हामीले ।
रसिला, फरासिला र आतिथ्यकारी प्रतीत हुन्थे दुवैजना ।
अतिथि सत्कार नेपाली संस्कृति र मूल्य, मान्यताभित्र पर्ने कुरा हुन् । सफल पर्यटनको आधारशीला पनि हो– आतिथ्य । यसैले छोड्छ पाहुनाहरूमा स्थायी छाप ।
उनीहरूकै आग्रहमा फेरि थप्यौँ एक घान मकै र दुई गिलास मही ।
अटेसमटेस भइगो मेरोे पेट ।
“कसरी फार्मस्टेको अवधारणा आयो तपाईंहरूमा ?” उनीहरूसँगको बातचितले सहज महसुस गराएकोले होला, जिज्ञासा राखिहाले बोधराजजीले ।
“छोराछोरी आआफ्नै खुट्टामा उभिने भइसकेका छन् । सरकारी सेवाबाट अवकाश पाएपछि बाँकी जीवन कसरी बिताउने भन्नेबारेमा घनीभूत छलफल भयो हामीबीच । यता आफ्नो स्वामित्वमा रहेको जमिन बाँझो परिरहेको थियो । आफ्नो थातवास छोडेर बुढेसकालमा के कङ्क्रिटको जङ्गलमा बिताउनु जस्तो लाग्थ्यो । भएका जग्गाजमिनलाई सदुपयोग गर्न सके आफूलाई व्यस्त राख्न पनि सकिने, काम र माम पनि हुने देखेँ । अनि राखेँ यो ठाउँमा फार्मस्टे चलाउने प्रस्ताव । उनले पनि सहजै स्विकारिन्,” राजेन्द्र सरको जवाफ ।
थपे– “काठमाडौँको नैकापमा हाम्रो साढे दुईतले घर थियो । त्यसलाई बेच्यौँ । उनी एनजीओ र सफ्टवयर कम्पनीमा काम गर्थिन् । नोकरीलाई चटक्कै छोडिन् र उनी तत्कालै फार्मस्टेको व्यवस्थापनमा लागिन् । यसरी फार्मस्टे सुरु ग¥यौँ हामीले । आज सात वर्ष भइसकेको छ ।”
राजेन्द्र सरको सरकारी सेवा अवधि अझै केही वर्ष बाँकी छ । अवकाशपछिको जीवनलाई निष्क्रिय राख्न चाहेनन् उनले । शान्त दिनचर्यामा बिताउनुकोे सट्टा निवृत्त जीवनमा नयाँ यात्रा तय गर्नु नै राम्रो । दूरदर्शिता भनेको यही हो ।
अवधारणा राजेन्द्र सरको, समर्पण गीता म्याडमको । उनकै नेतृत्वमा फार्मस्टेले गति लिइरहेको छ अहिले । एउटा सामन्जस्यपूर्ण साझेदारीको ज्वलन्त साक्ष्य हो यो ।
श्रीमान्को सपना साकार पार्दैछिन् गीता म्याडमले । उनी चितीखोला फर्केपछि चरनमा परिणत भएका बाँझो जमिनलाई खेतीयोग्य बनाइन् । आफ्ना लागि मात्र फार्मस्टे सुरु गरिनन् उनले । गाउँलेहरूको पनि आयआर्जन होस् भनेर चितीखोलामा सामुदायिक होमस्टे खोल्नका लागि सक्रिय रूपबाट योगदान पु¥याइन् । फलतः चितीखोलामा एउटा सामुदायिक होमस्टे स्थापित भएको छ ।
श्रीमान् उच्चपदस्थ कर्मचारी, फेरि आफैँमा योग्यता, क्षमता र सीप भएकी महिला हुन् गीता म्याडम । अवकाशपछिको जीवन श्रीमान्कै पेन्सनबाट पनि राम्ररी चल्न सक्थ्यो । अझ भनौँ– अहिलेको आर्थिक धरातलले सहरमै सहज जीवन बिताउन पनि सक्थिन् । तर कृषिको महत्व बुझेकी उनी गाउँ फर्किन् । कृषिमै जीवनको सम्भावना खोजिन् । त्यसैमा पर्यटनलाई जोडिन् र समाजका अन्य महिलाका लागि पनि प्रेरणाको स्रोत बनिन् ।
राजेन्द्र सरले भने– “हेर्नुस् त हरिया पहाड, कञ्चन चितीखोला । वातावरण नै राम्रो । पानीको समस्या छैन । यातायातको पनि सुविधा छ ।”
प्रकृति यहीँ छ । विकास यहीँ छ । यही बहन्छ स्वच्छ हावा । बस्ने ठाउँको खाँचो छैन । अनि केलाई खानु त सहरको धुवाँ र धुलो ।
बर्सात नभए पनि हरियै रहन्छन् यहाँका पहाड । साँच्चै सुन्दर छ चितीखोलाको वातावरण । चार आना जग्गा किनेर यतै घर बनाउन पाए हुन्थ्यो झैं लागेथ्यो मलाई ।
०००
हप्प गर्मी थियो । गाडीमा आउँदाको थकाइले बाहिर कतै निस्किहाल्न मन लागेको थिएन ।
“हजुरहरू माटोको कोठामा बस्नुहुन्छ कि सिमेन्टेडमा ?” प्रेमपूर्वक विकल्प दिए प्रेमले ।
माटो खेलेरै हुर्केका हामी । भनिन्छ– माटोसित स्पर्श गर्नुपर्छ । हामीले रोज्यौँ, माटोको कोठा । प्रेमले हामीलाई माटोको लिउन लगाएको एउटा कोठा दिए । कोठा सानै भए पनि दुइटा खाट अटेका छन् । भुइँमा ओछ्याइएको छ– गुन्द्री । ह्याङ्गरमा झुन्ड्याइएको छ– टाबेल । भित्तामा फिट गरिएको छ– फ्यान । पाहुनाहरूले लामखुट्टेको सङ्गीत सुन्नु नपरोस् भनेर ‘लिक्विड’को व्यवस्था पनि गरिएको छ । एकदिने पाहुनालाई चाहिने ऐनासम्मको पनि व्यवस्था गरिएको रहेछ ।
पुरानो कोठाको संरचना नबिगारी जगबाट लाफा गाँसेर एटेच बाथरूम बनाइएको छ । ट्वाइलेट र सावरको व्यवस्था भएपछि हामी गाउँमा हुर्केकालाई के चाहियो र !
कोठाभित्र छिर्नेबित्तिकै मोबाइललाई चार्जमा राखेर ‘म त नुहाउँछु है’ भन्दै बाथरूम छिरे बोधराजजी ।
नरम बिछ्यौनामा पल्टिएँ म । मेरै पहाडघरको दलानको कुना जस्तै लागेथ्यो मलाई फार्महाउसको त्यो कोठा ।
बोधराजजीले नुहाईसक्दा मुसलधारे वर्षा हुन थाल्यो । पानी परेपछि शीतल भइगो । नुहाइरहने कष्ट गरिनँ मैले ।
एक घण्टा आराम ग¥यौँ ।
पानी रोकिएपछि तल झ¥यौँ । राजेन्द्र सर र गीता म्याडम पिँढीमै थिए ।
उनीहरूले माथिल्लो कान्ला उकाले हामीलाई । त्यहाँ तीस जना जति सहजै अट्ने एउटा डाइनिङ हल छ । बस्नका लागि नजिकै छुट्टै ‘हट’को पनि व्यवस्था छ ।
फलफूलमा केरा, नासपाती, स्याउ, सुन्तला, आरु, अङ्गुर, स्ट्र बेरी, कागती निबुवा, आँप, लिची, एभोकाडो र अनारका बोटहरू देखिए ।
अझैँ सकिएको रहेनछ अम्बाको सिजन । मलाई साह्रै मन पर्ने फल हो– अम्बा ।
“खानुस् न टिपेर” भनिन् गीता म्याडमले ।
बोटबाटै ताजा अम्बा टिपेर खाँदाको मज्जा नै अर्कै ।
पल्लो छेउमा लिचीको बोटमुनि अर्को कोठा बनाइएको छ । त्यसलाई नाम दिएको छ– ‘ट्री हाउस’ । प्रकृतिको बीचमा एक अद्वितीय र शान्त जीवनको अनुभूति दिलाउँछ यसले । माथिल्लो कान्लामा पाहुनाहरूका लागि सुविधाजनक कोठाहरू तयार पारिएका छन् । त्योसँगै ‘ब्यारेल हाउस’ नाम दिइएको दुइटा ठुलो ह्युमपाइपजस्ता लाग्ने कोठा निर्माण गरिएका छन् । ती संरचना सिमेन्टेड हुन् तर चलाखीपूर्वक काठको प्राकृतिक सौन्दर्यको नक्कल गरी डिजाइन गरिएकोले झलक्क हेर्दा काठजस्तै लाग्छन् । म पहिलो पटक सामना गर्दै थिएँ, आधुनिक निर्माण प्रविधिमा काठे आकर्षण मिसाइएको त्यस्तो अभिनव दृष्टिकोण । हामीले निरीक्षण गर्यौं ब्यारेल हाउसको । त्यसमा बाथरूमसहितको ठाउँ छ । मेरा लागि नौलो अनुभव ।
०००
बारम्बार मोबाइलमा कुरा गरिरहेका बोधराजजी कसैलाई फार्मस्टेसम्म आइपुग्ने बाटो बताएझैँ लाग्थ्यो ।
नभन्दै हो रहेछ ।
“साथमा दोहोरी गाउने साथी लिएर आज विन्दुु थापा मगर पनि आउँदैछिन् नि,” भने उनले ।
उज्यालो देखिन्थ्यो बोधराजजीको मुहार । गाउन भनेपछि हुरुक्कै हुने उनलाई दोहोरी गीत गाउने मान्छे आउने भएपछि किन खुसी नहुनु !
अघिल्लो साल ढोरपाटन गएर काठमाडौँ फर्कने क्रममा विन्दुुकै माइतीमा बसेका थियौँ बोधराजजी र म । तनहुँसुरमा होमस्टे चलाउँछन् उनको बुवाले । त्यही बेला चिनेको थिएँ मैले उनलाई । न्यानोपन, आतिथ्यकारी, र दयालु भावनाका विशेषता हुन् मगर जाति । नेपाली समाजका सम्मानित सदस्य पनि हुन् उनीहरू । साह«ै हँसिली र रसिली छिन् विन्दु ।
फार्मस्टेको पिँढीमा बस्दै गर्दा चिनजानकै परशुराम खतिवडा आइपुगे । उनी काठमाडौँमा टेन्ट आपूर्र्ति गर्थे ट्रेकिङ व्यवसायीलाई । हामीले अन्तिम पटक भेटेको वर्षौं भइसक्यो । उनलाई त्यो ग्रामीण परिवेशमा फेरि देख्दा मेरो विगतको टुक्रासँग पुनर्मिलन भएको महसुस भयो । काठमाडौँको भीडभाड छाडेर थातथलो फर्केपछि राजनीतिमा लागेर उनी सिद्घलेक गाउँपालिका, धादिङको अध्यक्ष भइसकेका रहेछन् । सहरमा आधारित उद्यमदेखि स्थानीय नेतासम्मको उनको यात्रा धेरैका लागि आफ्नो जन्मस्थानको विकासलाई बढावा दिन प्रेरणा हुनसक्छ ।
बोधराजजीले बताएको बाटो पछ्याउँदै आइपुगिन् विन्दुु थापा । उनीसँगै आएका थिए– विष्णुमाया श्रेष्ठ, सुष्मा श्रेष्ठ, वसुन्धरा पाण्डे, बबिता जीसी, टङ्क भण्डारी, राजकुमार श्रेष्ठ र केशरी थापा ।
डाइनिङ हलमा बसेर परिचय ग¥यौँ हामीले । विन्दुुजस्तै सरल, हँसिला र रसिला थिए– उनका सहयात्री पनि ।
काम विशेषले फार्मस्टे आइपुगेका अरू तीनजनाको पनि आगमन हुन्छ डाइनिङ हलमा ।
यात्रामा परिचित मुहारसित जम्काभेट हुनु आफैँमा आश्चर्यको कुरा हुन्छ । विन्दुुसँगको अप्रत्याशित भेटले न्यानोपन र उत्साहको भावना ल्याएथ्यो । उनीसँगको त्यो भेटले तनहुँसुर यात्राका सम्पूर्ण क्षणहरूको ‘फ्ल्यासब्याक’ भइरहेथ्यो ।
सायद एउटै थियो उनीहरू र हाम्रो यात्राको लक्ष्य । लक्ष्य अर्थात् गुड फ्राइडे मनाउने । मूलतः गुड फ्राइडे ईसाईहरूले क्रसमा टाँगिएको जिसस क्राइस्टको बलिदानको सम्झनामा मनाउँछन् क्यार ! उनीहरूका लागि यो प्रतिविम्ब, प्रार्थना, र शोकको दिन हो । विदेशीको प्रभावले होला, ‘गुड फ्राइडे’ भन्न जानेका छौँ हामीले पनि ।
आठ बजेको थियो होला सायद । किस्तीमा केक राखेर ल्याए प्रेमले । कस्तो रमाइलो संयोग ! गीता म्याडमको जन्मदिन रहेछ । वातावरण आनन्द र सौहार्दको भावनाले भरिएको थियो । हामी पाहुना बनेर त्यहाँ पुगेका सबै उनको जन्मोत्सवलाई विशेष बनाउन रिङ्गै उभियौँ । जीवनको नयाँ खुट्किलोमा प्रवेश गरेकी गीता म्याडमको मुहार खुसी छाएको प्रतीत हुन्थ्यो । हामी सबैले उत्साहका साथ जन्मदिनको गीत गायौँ । सामूहिक हर्षोल्लास भयो । त्यसपछिको हाँसो र मुस्कानले एकताको भावना सिर्जना गर्यो, जसरी हामीले उनको आनन्दमा साझेदारी गर्यौँ ।
सूर्यास्तसँगै सुरु हुन्छ, जलपान कार्यक्रम । साउन महिनाभरिका लागि मासु बारेको थिएँ मैले ।
बोधराजजीले “आज महिना मर्ने दिन हो । साँझ परेपछि चल्छ” भनेपछि उनलाई साथ दिन कर लाग्यो मलाई ।
टेबलमा आइपुग्यो स्थानीय रक्सी र कुखुराको मासु । हरर्र आएको बास्ना डाइनिङ हलको हावामा मिसियो । फार्मस्टेको वास्तविक स्वाद हो– स्थानीय उपज ।
एक महिनाको अन्तरालमा रक्सीको गिलास समाउँदै थिएँ । औपचारिक थियो मैले लगाएको चुस्की । रक्सीको तीखोपन र मासुको चिल्लो स्वादले साँµको अनुभवलाई अµ जीवन्त बनायो । प्रत्येक चुस्कीले यात्राको मेरो थकानलाई कम गरायो । उत्सवको आनन्द बढायो । एक महिनापछि पिउँदाको अनुभूतिलाई अझ विशेष बनायो ।
प्रेमले एकजोर मादल ल्याएपछि सुरु भयो नाचगान ।
पारिपाखा घाम लाग्यो घमाइलो
फार्मस्टेमा हुँदैछ रमाइलो’
नमस्ते, छ्याजलो, झोर्ले है..
तिमी आउनू तिम्रै घरबाट, म आउँछु मेरै घरबाट
भेट होला, चितीमा झरे है...’
पल्लो छेउमा बसेकी केशरी थपाले झिकिन् गीत ।
दोहोरी अगाडि बढ्यो, बोधराजजीको प्रत्युत्तरबाट ।
‘सपनीमा छुनु र मुनु
विपनीमा रै’छ र भेट हुनु
नमस्ते, छ्याजलो, झोर्ले है..
तिमी आउनू तिम्रै घरबाट, म आउँछु मेरै घरबाट
भेट होला, चितीमा झरे है...’
दोहोरी अगाडि बढ्यो–
‘मनैको तिर्सना मेटियो,
सबैजना यहीँ आ’र भेटियो
नमस्ते, छ्याजलो, झोर्ले है..
तिमी आउनू तिम्रै घरबाट, म आउँछु मेरै घरबाट
भेट होला, चितीमा झरे है...’
मादलुको तालमा उत्साहका साथ नाच्न थालिन् विन्दुु । छरितो ज्यान, गीतका शब्दसँग हाउभाउ मिलाएर नाच्दा झनै सुन्दर देखिन्थिन् । पछि त सबैले कम्मर मर्काएर साथ दिए उनलाई । यो स्पष्ट थियो कि उनीहरूले साँझको भरपुर आनन्द उठाइरहेका थिए ।
नाचगानलाई एकैछिन थाती राखेर गरियो रात्रीभोज ।
रात्रीभोजपछि फेरि दोहोरी, फेरि नाचगान ।
म त दुई गिलास ठर्राले झ्याप भइसकेको थिएँ । अडिनै सकिनँ । रातको ११ः०० बजेपछि लुसुक्क लागेँ म कोठातिर ।
नेपथ्यमा सुन्दै थिएँ–
‘सबैजना फार्मस्टे आएको
रातैभरि दोहोरी गाएको
नमस्ते, छ्याजलो, झोर्ले है..
तिमी आउनू तिम्रै घरबाट, म आउँछु मेरै घरबाट
भेट होला, चितीमा झरे है...’
‘कति राम्रो बगेको खोली
भेट हुन्छ है, फेरि ‘नि भोलि
नमस्ते, छ्याजलो, झोर्ले है..
तिमी आउनू तिम्रै घरबाट, म आउँछु मेरै घरबाट
भेट होला, चितीमा झरे है...’
रातको दुई बजेको थियो बोधराजजी कोठामा छिर्दा । मैले भने निद्रा पु¥याइसकेको थिएँ ।
उनी भन्दै थिए– “मज्जाले गाइयो दोहोरी र नाचियो पनि ।”
बिछट्टै खुसी थिए बोधराजजी ।
भोलिपल्ट ।
हत्तपत्त जहाँ पाए त्यहीँ निदाउन नसक्ने म त्यो फार्मस्टेमा भने मज्जैले निद्रा प¥यो । अघिल्लो साँझ राजेन्द्र सरले उनको फार्म घुमाइदिन्छु भनेका थिए । सात बजे निस्कने कुरा भएको थियो । एक कप पुदिना चिया सुक्र्याएपछि उनको पदचाप पछ्याएँ ।
कुल ७० रोपनी जग्गामा फार्म चलाएका रहेछन् उनले । सिजनल फलफूल, तरकारी, धान र मकै, बेसार आफ्नै खेतबारीमा उब्जाउँछन् उनले । एक कान्ला ओर्लेपछि डोरीमा टाँगेर राखिएका लसुन र प्याज देखाए । नुनबाहेक सबै आफ्नै खेतबारीमा उब्जाउँछन् उनी ।
कुखुराहरू कुट्कुटाइरहेका छन् । भाले ‘कुखुरी काँ’ गरिरहेका छन् । लौकाटहरू च्याँट्ठिएर कराइरहेका छन् अनौठो आवाज निकाल्दै । ‘बाँ’ ‘बाँ’ गरिरहेका छ गाइको बाछो । एक ठाउँमा सागिने कुखुरा, अर्को ठाउँमा ब्रोइलर, फेरि अर्को ठाउँमा, लौकाट, अनि अर्को ठाउँमा कालिज । गाई, बाख्रा पालेका छन् । दुध, दही र मासु आफैँ उत्पादन गर्छन् ।
धान कुट्ने मिल पनि राखेका रहेछन् ।
उनी भन्थे– “आफैँले मिल राख्दा वस्तुभाउलाई चाहिने ढुटो फाइदा ।”
नेपालमा धान कुट्दा मिलवालाले आफ्नै ढुटो लिनलाई पनि पैसा तिराउँछन् । अचम्म पो छ त !
विभिन्न थरीका घाँसहरू लगाएका छन् उनले । घाँस यहीँ वस्तुभाउ यहीँ । मल यहीँ । एउटा पर्यावरण नै छ यहाँ । गाईवस्तु र बाख्राले खाने घाँसका गाँज र डाले घाँसहरू समाउँदै ओर्लें म । घाँस मात्र होइन– घाँस । यो त अत्यावश्यक जैविक स्रोत हो, जसले मानिसहरूको जीविकोपार्जनलाई मद्दत पु¥याउँछ । यसमा ग्रामीण पर्यावरणको सार छ । उनको ७० रोपनी जमिन एक सूक्ष्म जगत् हो, जहाँ कृषि, अर्थतन्त्र र दैनिक जीवन निर्बाध रूपमा एकसाथ अगािड बढिरहेको छ ।
कतै दुईपातमै फलेका अम्बा, कतै मेवा त कतै किवी । कतै स्ट्रबेरी त कतै ड्य्रागन फ्रुट । उनले एभोकाडोका बोट चिनाए मलाई । मेवाको नाम चाहिँ– रेड लेडी । साह्रै गुलियो थियो हिजो खाएको मेवा । यही पो रहेछ । खेतको छेउकुनामा खनायोका बोटहरू त्यत्तिकै । फल मान्छेलाई पात गाईवस्तुलाई ।
कति राम्रो !
प्याराग्लाइडिङ गर्ने ठाउँ पनि रहेछ चितीखोलामा ।
उनले भने– “माथिको डाँडाबाट प्याराग्लाइडिङ गराउने कुरा भइरहेको छ ।”
डाँडाबाट बेसी झर्दा ग्लाइडिङलाई केही चिजले अवरोध गर्दैन । उनको फार्मस्टेको भविष्यको आधार हुनसक्छ यहाँ सुरु हुने प्याराग्लाइडिङ ।
खोल्सीको डिलमा भएको पँदेलको बोटले मलाई बालवयमै पु¥यायो । गोठालो जाँदा खुब खाइन्थ्यो । पँदेलको काँडा बिµेर निकै दिन थलिएको कहिल्यै बिर्सन्नँ म ।
“खोलासम्म जाऊँ न,” भने राजेद्रदेव सरले ।
ओरालियौँ हामी ।
“चैत्यखोला भनिन्थ्यो रे यसलाई । अपभ्रंस भएर चितीखोला भनिएको रे,” बताए उनले ।
डिलमा छ– वरपिपलको चौतारो । प्रणयगीत गाइरहेका थिए, विभिन्न जातका चराचुङ्गीहरूले । मलाई प्रकृतिसित सम्बन्धको भावना जगाएथ्यो, तिनीहरूका आवाजले ।
चराहरूको गीत प्राकृतिक संसारको सादगी र सौन्दर्यको एक सुखदायक अनुस्मारक हो र नयाँ दिनको सुरुवातको सङ्केत पनि । गीतको प्रत्येक लयले जीवन्त पर्यावरणमा शान्तिको तह थप्दै प्रकृतिको सद्भाव प्रतिध्वनित गथ्र्याे । चितीखोलाकोे मुटुको धड्कन जस्तै लाग्थ्यो– तिनको कलरव । मभित्र सम्झनाको रूपमा रह्यो, चितीखोलाको प्राकृतिक संसारको गहिरो सौन्दर्य ।
चितीखोलाले आफ्नै भाषामा प्रकृतिको कालातीत गीत गाइरहेथ्यो । खोलाको सुसेली, चराचुरुङ्गीको चिरबिर । प्रकृतिले गाइरह्यो, मैले सुनिरहेँ । सङ्गीतमाला सिर्जना भइरह्यो, चितीखोलाका छालहरू किनारमा निरन्तर ठोक्किँदा । चितीखोलाको सङ्गीतमालाले प्रतिध्वनित भएझैँ लाग्थ्यो, सिङ्गो उपत्यका ।
चितीखोलाले सिँचेको छ यति ठूलो फाँटलाई । र, त समृद्घ बनेको चितीखोला बस्ती ।
राजेन्द्र सरले भने– “निरन्तर बगिरहन्छ चितीखोला । कहिलेकाहीँ उर्लेर बगे पनि नोक्सान पु¥याउँदैन यसले ।”
झोलुङ्गे पुलले जोडेको छ चितीपारिको गाउँबस्तीलाई ।
खोलापारिका बस्तीहरू पनि अवलोकन गर्न मन थियो तर समय थिएन ।
राजेन्द्र सरको खेतमा गाँजिदै गरेको रोपो पनि हेरेँ मैले ।
कुसुन्डे बगैँचाको बाटो गरी फक्र्यौं हामी फार्मस्टे । एक शताब्दी लामो इतिहास रहेछ कुसुन्डे बगैँचाको ।
उनी भन्थे– “विभिन्न थरीका आँपका बोटहरूले प्रसिद्ध थियो यो ।”
राजेन्द्र सरले मलाई चितीखोलाको मुहान देखाए । धेरै टाढा छैन चितीको मुहान । फटाफट हिँडे ४–५ घण्टामा पुगिन्छ जस्तै लाग्ने ।
उनले भने– “चैतमासमा पनि बगिरहने खोलालाई चैत्यखोला भनिन्छ । सात सय श्लोकको दुर्गाको माहात्म्य लेखिएको पुस्तक चण्डीमा पनि यही चैत्यखोलाको वर्णन छ रे ।”
“उः त्यो पुर्कोट र अर्को चाहिँ चोक हो । ऊ वेला घले र मगरहरूको छुट्टाछुट्टै राज्य थिए पुर्कोट र चोककोट ।” उही दिशा औँल्याउँदै पहाडहरू चिनाए उनले ।
सायद त्यहाँ घलेहरूले बनाएको चैत्य थियो होला । चैत्य भएको पहाडमा मुहान भएकोले चैत्यखोला भनियो र पछि जनबोलीमा चितीखोला बस्न पुग्यो । फगत् मेरो अनुमान ।
उनले थपे– “झन्डै ३ घण्टा पर छ, प्रसिद्घ थानीमाई मन्दिर । हरेक वर्ष कात्तिक र माघमा सोमबारको दिन पूजा गर्ने र भोलिपल्ट बाजा बजाउँदै डोली फर्काउने चलन छ ।”
यहाँको ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक सम्पदाको सदुपयोग गर्न सके पर्यटकलाई कम्तीमा दुई दिन रोक्न सक्छ चितीखोलाले । मनाङबाट काठमाडौँ फर्कने र काठमाडौँबाट बेसीसहर जानेहरूका लागि आवासको उत्तम विकल्प पनि हो– चितीखोला । पोखरा जाने र फर्कनेहरू पनि चितीखोलाको रम्यतामा रम्न सक्छन् ।
वारिपारिका हरियालीमा लुकेका थुप्रै बस्तीहरू देख्न सकिन्छ, यो फार्मस्टेबाट । पश्चिमतर्फ देखिने मनासलु, लमजुङ, बुद्घ हिमाल, हर्क पिक, र गणेश हिमाललगायतका उच्च शिखरहरूले पर्यटकको मन लोभ्याउँछन् ।
ग्रीन हिमालय फार्म हाउस रात बिताउने ठाउँ मात्र होइन । यो एक अनुभव हो, जसले आगन्तुकलाई नेपाली ग्रामीण जीवनको सारसँग जोड्छ । सहरी जीवनको कोलाहलबाट ब्रेक खोज्नेलाई विकल्प बन्न सक्छ यो फार्महाउस ।