२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । काठमाडौं नदी किनारका बस्ती जोगाउन सत्तारूढ कांग्रेस, एमाले र माओवादी एकमत भएका छन् । उनीहरूले वर्षौँदेखि नदी किनारामा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती जोगाउन एकमत भएका हुन् ।
बस्ती जोगाउनकै लागि यसअघि कांग्रेस, एमाले र माओवादी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता समेत गरेका छन् ।
केही दिन पहिले प्रधानमन्त्री ओलीलाई पनि एमाले, कांग्रेस नेताहरूले भेटवार्ता गरेका थिए । उक्त भेटमा ओलीले सुकुम्बासी बस्तीबारे आफू गम्भीर रहेको बताएका थिए । उनको सुकुम्बासी हटाउनुभन्दा पनि व्यवस्थित गर्नुपर्ने तर्क थियो ।
देउवासँगको भेटमा पनि नेताहरूले काठमाडौं नदी किनारका बस्ती कसरी व्यवस्थित गराउनेबारे छलफल गरेका थिए । देउवाले पनि बस्ती हटाउनेभन्दा पनि व्यवस्थित रूपले व्यवस्थापन गर्नुपर्नेमा जोडदिए ।
त्यस्तै हिजो (ब्हिीबार) एमाले नेताहरुले माओवादी दाहाल प्रचण्डसँग भेट गरेका छन् । हिजो दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इन्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इन्चार्ज र पालिका इन्चार्जहरू, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन् ।
प्रचण्डलाई भेटेर नदि किनारका जमिन र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले बताए ।
अदालतको फैसलाका कारण उत्पन्न समस्याका बिषयमा सरकार पुनरावलोकनमा जानपर्ने बिषयमा सहमति जनाउदै प्रचण्डले जनसरोकारका विषयमा माओवादीको समर्थन रहने प्रतिबद्धता रहेको जनाए । त्यसबारे आफ्नो दलबाट औपचारिक निर्णय गरेर सरकारले भ्याकेटमा जाँदा समर्थन जनाउने प्रचण्डले प्रतिबद्धता जनाएको उनले बताएका छन् ।
भेटमा प्रचण्डले नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्ने जनाएको एमालेका नेता आनन्द पोखरेलले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij