२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । १० वर्षे शसस्त्र संघर्ष एवं जनयुद्धलाई हिंसाको संज्ञा दिने योगेश भट्टराईलाई ताप्लेजुङ प्रवेशमा रोक लगाइएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारूढ दल नेकपा (एमाले) सांसद भट्टराईले जनयुद्धलाई हिंसाको संज्ञा दिएपछि ताप्लेजुङ प्रवेशमा रोक लगाइएको मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (माओवादी)का महासचिव गौरवद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
नेकपा (माओवादी)ले जनयुद्धका बाँकी कार्यभार पूरा गर्न र गद्दारहरूले अधुरै छोडेको क्रान्ति पुनः सम्पन्न गर्न देशव्यापी रूपमा घोषित सशस्त्र संघर्षका र जनयुद्ध–२ को तयारीमा रहेको जानकारी गराएको छ ।
संघीयता, गणतन्त्र, सामानुपातिक, धर्म निरपेक्षता लगायतका उपलब्धिहरू र संविधानसमेतले जनयुद्धलाई स्वीकार गरिसकेको अवस्थामा एमाले सांसद योगेश भट्टराईले हिंसाको संज्ञा दिनु अपमान भएको नेकपा (माओवादी)ले विज्ञप्तिमार्फत ठहर गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदमा माओवादी जनयुद्धलाई हिंसात्मक गतिविधि भनेर गरेको टिप्पणी नेपालको संविधानविपरीत मात्रै होइन, माओवादी आन्दोलन त्यसबाट प्राप्त उपलब्धि र जनयुद्धप्रति नै गरिएको घोर अपमानपूर्ण र अत्यन्तै गैरराजनीतिक खेदपुर्ण र तुच्छ टिप्पणीप्रति हाम्रो पार्टी नेकपा (माओवादी) घोर आपत्ति प्रकट गर्दछ ।’
जनयुद्धलाई हिंसाको टिप्पणी गर्ने भट्टराईले सार्वजनिक रूपमा माफी नमागे नमागे नकपा (माओवादी)ले जहाँ जुनसुकै अवस्थामा पनि जनकाबारही गर्ने चेतावनी दिएको छ ।
‘उनको निर्वाचन क्षेत्र गृहजिल्ला ताप्लेजुङ प्रवेशमा प्रतिबन्ध लगाउने कुरा यसै प्रेस विज्ञप्तिमार्फत चेतावनी स्वरुप जानकारी गराउन चहान्छौ साथै स्मरणरहोस् सत्ताको मातमा जनयुद्धबारे अनावश्यक टिप्पणी गर्दै हिँड्ने जो कोहीलाई पनि हाम्रो पार्टी नेकपा (माओवादी)ले नछाडने र कडा जनकारबाही गर्ने पनि यस विज्ञप्तिमार्फत कडा चेतावनी दिन चाहान्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।
सांसद भट्टराईले माओवादी हिंसाका कारण विद्युत् क्षेत्रमा चाहेजस्तो प्रगति हुन नसकेको अध्ययनले देखाएको बताएका थिए । ‘यो देशमा माओवादी हिंसा १० वर्ष नभएको भए नेपालको विद्युतमा योभन्दा ठूलो क्रान्ति हुन्थ्यो, २०६५ सालमै मुलुक लोडसेडिङमुक्त हुने थियो,’ उनले भनेका थिए ।
माओवादी सांसदहरूले विरोध गर्दैगर्दा पनि माइक समातेर भट्टराईले भने, ‘१० वर्षको अवधि हिंसा हो, हिंसाबाहेक केही होइन । यो हाम्रो परिभाषा हो । अरूले नमाने केही हुन्न् । यो हाम्रो पोलिटिकल कमिटमेन्ट हो । लोकतन्त्रमा बोल्न दिनुपर्छ । बोल्न नदिनु पनि हिंसा हो ।’
त्यसपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का सांसद एवं प्रमुख सचेतक हितराज पाण्डे, देवेन्द्र पौडेल, माधव सापकोटा लगायतले भट्टराईको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।
हेर्नुहोस् विज्ञप्ति :

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij