२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक शुक्रवार बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा मुख्यतः प्रतिनिधि सभा पुनःस्थापना भएपछिको अवस्था र नयाँ सत्ता समीकरणबारे छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए ।
शुक्रवार बस्ने कांग्रेस बैठकले राजनीतिक निकासका लागि केही निर्णय लिने अपेक्षा गरिएको छ । केही दिनअघि बसेको कांग्रेस पदाधिकारी बैठकले निकासका लागि कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने निर्णय गरेको थियो ।
तर सभापति शेरबहादुर देउवाले विराटनगरमा पुगेर कांग्रेस प्रतिपक्षमै बस्ने बताएका थिए । राजपासँगको वार्ता सकारात्मक नभएपछि देउवाले सरकारको नेतृत्व लिनेतर्फ खासै चासो देखाएका छैनन् ।
सरकारको नेतृत्व लिन माओवादीले कांग्रेससँग आग्रह गरिसकेको छ ।
बिहीवार माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले आज बस्ने कांग्रेस बैठकको निर्णय हेरेर अगाडि बढ्ने बताएका थिए ।
कांग्रेस बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे समेत छलफल हुने केन्द्रीय सदस्य यादवले लोकान्तरलाई जानकारी दिए ।कांग्रेसले २०७८ भदौमा १४ औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।
केन्द्रीय समिति बैठकअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूपक्षीय नेताहरूसँग १ बजे पार्टी कार्यालयमै छलफल गर्दैछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij