२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक बस्दैछ । उक्त सभाको बैठक आज (बिहीबार) दिउँसो १ः०० बजे बस्देछ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने संघीय संसद्को सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २३औं वार्षिक प्रतिवेदन, आव २०७९ र ०८०’ पेस गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै माननीय सोबिता गौतमले ‘हवाई क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संगठनहरूले नेपालका हवाई उड्डयन क्षेत्रलाई असुरक्षित भनिरहेको, हवाई दुर्घटनाहरूले एयरलाइन्स र हवाई यातायात उद्योगको छवि र विश्वासमा समेत असर परेको हुँदा तत्काल सुधारात्मक कदम चाली विश्वसनियता बढाउन आवश्यक भएकोले’ भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उक्त प्रस्तावका समर्थक सांसद डोलप्रसाद अर्याल, सन्तोष परियार, तोसिमा कार्की, हरि ढकाल, मनिष झा, निशा डांगी, विनिता कठायत, शिव नेपाली, अशोक कुमार चौधरी, सुमना श्रेष्ठ, डा.चन्दा कार्की (भण्डारी), गणेश पराजुली र विन्दवासिनी कंसकारले समर्थन गर्नेछन् ।
त्यस्तै बैठकमा सभामुख देवराज घिमिरेले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट २०६४ र २०७० सालको संविधान सभाको निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, हरेक लोकतान्त्रिक आन्दोलनमा सहभागी रहेका श्रवणकुमार अग्रवालको २०८१ साउन २१ गते सोमबार असामयिक निधन भएकोमा प्रतिनिधिसभाको बैठकमा शोक प्रकट एवं श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना प्रकट गर्ने संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले बताए ।

© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij