२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबीच छलफल सुरू भएको छ । देउवा निवास बूढानीलकण्ठमा विहान ९ः०० बजेदेखि छलफल सुरू भएको हो ।
उक्त छलफलमा केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जन गराउने विषयमा महामन्त्रीद्वयसँग देउवाले छलफल गरिरहेका छन् । सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए ।
देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए । महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए ।
कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको ‘एक्जिट पोलिसी’ सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।
संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij