२०८२ फाल्गुण ३० गते शनिवार
जनकपुरधाम । धनुषामा २४ घण्टाभित्र दुई पुरुषका शव फेला परेका छन् । दुवैको मृत्युको कारण खुलिसकेको छैन भने दुवैको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको औरही गाउँपालिका–३, कपटौलका ४० वर्षीय विजय मण्डलको शव शुक्रबार बिहान झाडीमा फेला परेको हो ।
घरभन्दा एक किलोमिटर पर औरही गाउँपालिका वडा नम्बर २ भराकटोल नजिक जमिनमुनि कुलोको किनारमा शव भेटिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए ।
परिवारजनका अनुसार उनी बिहीबार बिहान छिमेकी रामबली मण्डलको खेतमा चैते धान रोप्न गएका थिए । काम सकेर खेतबाट हिँडे पनि अबेर साँझसम्म घर नफर्किएपछि खोजी गरिएको थियो । त्यस क्रममा आज बिहान उनको शव फेला परेको हो ।
कसैले घाँटी थिचेर उनको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । प्रहरी निरीक्षक यादवले भने शव पोस्टमार्टमपश्चात् मात्र केही भन्न सकिने बताए ।
पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पाल जनकपुर पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
यसअघि हिजो बिहीबार बिहान धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका ३ पर्सा पकडियास्थित आँपको बगैंचामा परिचय खुल्न नसकेका एक पुरुषको शव फेला परेको थियो । ती पुरुषको कसैले हत्या गरेर फालेको हुन सक्ने स्थानयको आशंका छ ।
पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको धनुषा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij