२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेकपा (माओवादी केन्द्र) उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक असोज पहिलो सातादेखि जारी छ ।
जारी उक्त बैठकमा पार्टीलाई जनमुखी बनाएर संगठन विस्तार गर्नुपर्ने, एकीकृत कार्ययोजनाका साथ जनपरिचालनको योजना बनाउन माओवादी केन्द्रका नेताहरूले पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा सहभागी भएका नेताहरूले सरकारमा रहँदा भए र गरेका सकारात्मक कामकारबाहीलाई लिएर जनतामा जानुपर्ने, सुशासन समृद्धिको योजनामा भएको प्रगतिका बारेमा आम रूपमा जानकारी गराउनुपर्ने धारणा राखेका थिए ।
पार्टीभित्र आन्तरिक एकतालाई सवल बनाउनुपर्ने, नेताहरू एकीकृत रूपमा परिचालित हुनुपर्ने तथा कुनै पनि विवाद र द्वेष राख्न नहुनेमा जोड दिँदै नेताहरूले वर्गतर्फ फर्कने वातावरण बनाउन नेतृत्वलाई आग्रह गरेका थिए ।
एकीकृत प्रयास गरिएको खण्डमा र विगतको गल्ती तथा कमजोरी स्वीकार गरेर अगाडि बढ्ने संकल्प भए पार्टी पूर्णरूपमा पुनर्निर्माण भएर प्रमुख शक्ति बन्न सक्ने उनीहरुको धारणा थियो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोही बैठकमा भएको छलफलका बारेमा उनले आफूहरू लगातार बैठक र छलफलमा रहेको र पार्टीलाई थप सशक्त बनाउने दिशामा केन्द्रित रहेको बताएका थिए ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटालगायत नेताहरूको उपस्थिति थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij