२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । २०७९ मा सम्पन्न आमनिर्वाचन पश्चात् रिक्त ३५ वटै स्थानीय तहमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले मंसिरमा उपनिर्वाचन गराउनका लागि मतदाता नामावली नाम दर्ता गराउन आह्वान गरेको छ ।
उक्त निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनका लागि रणनीतिक छलफलको तयारी गर्ने भएको छ ।
भोलि (बुधवार) बस्ने केन्द्रीय समिति बैठकमा स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय भएको रास्वपा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आसन्न स्थानीय तह निर्वाचन आफ्ना उम्मेदवार चुनावी मैदानमा पठाउने वा नपठाउने भन्नेबारे पार्टीले रणनीतिक छलफल गरेर केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले बताए ।
निर्वाचन आयोगले मंसिरको दोस्रो हप्तातिर उपनिर्वाचन गर्दा उपयुक्त हुने प्रस्ताव सरकारसमक्ष गरेको छ । आयोगले उपनिर्वाचनलाई ध्यानमा राखेर उमेर पुगेका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन साउन २९ गते सूचना जारी गर्दै सार्वजनिक आह्वान गरिसकेको छ । आयोगका अनुसार ३५ स्थानीय तहमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेख महाबु गाउँपालिकामा अध्यक्ष पद रिक्त रहेको छ । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख तथा दोलखाको गौरीशंकर गाउँपालिका र बाजुरा स्वमीकार्तिक खापर गाउँपालिका र हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष पद रिक्त रहेको छ ।
यसबाहेक सात प्रदेशका २८ वटा वडामा अध्यक्ष पद रिक्त रहेको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्था अनुसार १ वर्षभन्दा बढी समयावधि बाँकी रहेको जुनसुकै रिक्त पदमा प्रतिनिधि चयनका लागि निर्वाचन गराउनुपर्ने हुन्छ ।
गत बैशाख १५ मा सम्पन्न इलाम उपनिर्वाचन र पार्टीको आन्तरिक विवादले प्रस्तावित उपनिर्वाचनमा कस्तो प्रभाव पर्ला भन्नेबारे पनि छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij