२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले प्रत्येक महिनाको दुईपटक आफ्नो कार्यविवरण पार्टीलाई देखाउनुपर्ने छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा संलग्न कांग्रेसले आफ्ना मन्त्रीहरूलाई हिजो (शनिबार) राति १० बजे पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानिलकण्ठ बोलाएर महिनाको दुई पटक अनिवार्य कार्यसम्पादन प्रगति विवरण पार्टीमा देखाएर छलफल गर्नुपर्ने निर्देशन दिएका छन् ।
बैठकमा दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि पार्टीबाट सहभागी थिए । देउवा निवासमा कांग्रेसबाट मन्त्री र राज्यमन्त्री सबै पुगेका थिए । हरेक १५ दिनमा एकपटक पार्टी र मन्त्रीको छलफल गर्ने निर्णय भएको छ । १२ मन्त्रीहरूबीच राति १२ बजेसम्म छलफल चलेको थियो ।
यसलाई कतिपयले देउवाको उल्टो सिकायत भनेका छन् । किनकि जुनसुकै पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूले गरेको कार्यको प्रगति विवरण पहिले प्रधानमन्त्रीसमक्ष पेस गर्नुपर्छ । त्यसपछि जहाँ पेस गरेपनि फरक पर्दैन । तर, कांग्रेस सभापतिले आफ्ना पार्टीका मन्त्रीहरूलाई प्रगति विवरण प्रधानमन्त्रीसमक्ष पेस गर्नु पहिले पार्टीसमक्ष पेस गर्न निर्देशन दिएका छन् ।
कांग्रेसबाट मन्त्री हुनेमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन् ।
दुई राज्यमन्त्रीमा रुपा विक र पूर्णबहादुर तामाङ छन् । विकले वन तथा वातावरण र तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij