२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीमा विकल्प खोजी भएकै समयमा उनले अन्य दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै गोप्य भेटवार्ता गरेका छन् ।
प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार गोप्य भेटवार्ता भएको छ । प्रचण्ड–माधवबीच खुमलटारमा भेटवार्ता भएको हो । भेटको क्रममा प्रचण्डले माधवसँग पार्टी एकताका लागि प्रस्ताव गरेको माधवनिकट एक नेताले बताए ।
उनका अनुसार– ‘माओवादी अध्यक्ष प्रचण्ड कमरेडले हाम्रो पार्टीका अध्यक्ष (माधवकुमार नेपाल) सँग पार्टी एकता तत्काल गर्ने प्रस्ताव गर्नुभएको थियो । उहाँको प्रस्ताव माधव कमरेडले चासोका साथ लिनुभएन । बरू समाजवादी मोर्चालाई निरन्तरता दिऔँ र भविष्यमा सोच्न सकिन्छ ।’
प्रचण्डलाई माधवले पार्टी एकता सम्भव नभएको जवाफ दिएको ती नेता बताउँछन् । त्यसपछि प्रचण्डले आज (बिहीबार) बिहान नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग गोप्य भेटवार्ता गरेका छन् ।
उनीसँगको भेटमा पनि प्रचण्डले पार्टी एकताकै प्रस्ताव अघि सारेको प्रवक्ता प्रकाण्डले बताए । प्रकाण्ले भने, ‘प्रचण्ड कमरेडले महासचिव (विप्लव) कमरेडलाई पार्टी एकताको प्रस्ताव गर्नुभयो । तर, महासचिवले अहिले नै पार्टी एकता गर्न उचित नहुने जवाफ दिनुभएको थियो । किनकि एकताका आधारस्तम्भ तय नगरेरै एकता गर्दा विगतको नेकपा जस्तै दुर्घटनामा पर्ने खतरा हुन्छ । यसर्थ एकता अहिले नै सम्भव नभएको महासचिव कमरेडले प्रचण्ड कमरेडलाई भन्नुभएको छ । तथापि पार्टी एकताको सन्दर्भमा हामी सकारात्मक नै छौँ ।’
तुरुन्तै पार्टी एकता सम्भव नभएकोले माओवादी केन्द्रलाई नै पुनर्निर्माण गर्न प्रचण्डलाई माधव–विप्लवले सुझाव दिएका छन् । प्रचण्डले चरणबद्ध माधव–विप्लवलाई भेट्नु अर्थपूर्ण रहेको कतिपयको आकलन छ । तर, पार्टीभित्र भने यसलाई शक्ति सन्तुलनको विकल्पको खोजीमा प्रचण्ड दौडेको आरोप छ ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव गरेका छन् । उक्त प्रस्ताव र पार्टी स्थायी समितिका ४४ सदस्यले उठाएका सवालको जवाफ आज प्रचण्डले दिँदैछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij