२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले उद्योगीले महसुल असुल नगर्दै विद्युत् जडान गरेकोमा आपत्ति जनाएका छन् ।
उनले जारी संसद् बैठकमा बोल्दै उनले आपत्ति जनाएका हुन् । ढकालले आपत्ति जनाउँदै गर्दा सभामुख देवराज घिमिरेले बिचैमा रोकेपछि संसद् अवरुद्ध भएको थियो ।
संसद् बैठकको आकस्मिक शून्य समयमा सांसद ढकालले सार्वजनिक यातायात क्षेत्र असुरक्षाको विषयमा बोल्न समय माग गरेका थिए । उक्त विषय बोलेर सक्ने बित्तिकै उनले विद्युत् महसुल असुलबारे बोल्दै गर्दा सभामुख घिमिरेले माइक काटेका थिए ।
त्यसपछि रास्वपा र राप्रपा सांसद उठेर अवरोध गरेका हुन् । उनीहरूले सांसदलाई बोल्नबाट रोक लगाउन नहुने भन्दै विरोध जनाएका थिए ।
त्यस क्रममा सभामुख घिमिरेले रास्वपा सभापति रवि लामिछानेलाई बोल्न समय दिए । उनले सांसद हरि ढकालले विद्युत् महसुलको विषय उठाउनेवित्तिकै सभामुखले माइक काटिदिएको भन्दै विरोध जनाए ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदहरुले संसदमा जुनसुकै विषय उठाउन सक्ने भन्दै सभामुखले रोक्न नपाउने बताए ।
संसदमा जुनसुकै विषय उठाउन सांसदलाई सार्वभौम अधिकार रहेको लिङ्देनको भनाइ छ ।
रास्वपा र राप्रपा सांसदहरु उठेर संसद अवरोध गरिरहे । सभामुखले बस्न आग्रह गर्दा पनि उनीहरु मानेनन् । केहीबेरमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसदहरु पनि उठे ।
अन्तिममा सभामुख घिमिरेले सांसद हरि ढकाललाई बाँकी समय उपयोग गरेर बोल्न समय दिएपछि माओवादी, रास्वपा र राप्रपा सांसदहरु बसे र संसद बैठक सञ्चालन भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij