२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । संसद् विघटनको समर्थन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेका बाग्लुङका लीलबहादुर थापामगरले एमाले गण्डकी प्रदेश सहइन्चार्जको जिम्मेवारी पाएका छन् । ओलीले संसद् विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन आउँदा थापाले पुष्पकमल दाहाल 'प्रचण्ड'को साथ छाडेका थिए ।
एमाले अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनअनुसार नेताहरूको जिम्मेवारी हेरफेर गर्दा थापाले प्रदेश सहइन्चार्ज बन्ने मौका पाएका हुन् । जनमोर्चाबाट राजनीति सुरु गरेका बरेङ गाउँपालिका-२ हुग्दिशिरका थापामगर माओवादीका केही पूर्वलडाकुसहित माघ दोस्रो साता ओली समूह प्रवेश गरेका थिए ।
२०५४ सालदेखि ५ वर्षसम्म तत्कालीन जिल्ला विकास समिति बाग्लुङ सभापति रहेका लीलबहादुर राजमो छोडेर २०६३ पछि माओवादी प्रवेश गरेका थिए । उनी एकीकृत नेकपामा केन्द्रीय सदस्य पनि थिए ।
अहिले ओलीतिर लागेका टोपबहादुर रायमाझीसँग घनिष्ठ दोस्तीयारी भएका थापा रायमाझी शान्तिमन्त्री हुँदा उनको राजनीतिक सल्लाहकार भएका थिए । राष्ट्रिय भलिबल संघको केन्द्रीय उपाध्यक्ष भएका थापामगर गत साउनमा राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव बन्न कसरत गरिरहेका थिए । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले रमेशकुमार सिलवाललाई दोस्रो कार्यकालको जिम्मेवारी दिए ।
थापामगरसहित गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, संघ सरकारकी बहालवाला कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याललाई पनि सहइन्चार्जको जिम्मा दिइएको छ । गुरुङ यसअघि पनि सहइन्चार्ज थिए ।
एमालेका प्रभावशाली एवं पार्टी अध्यक्ष केपी ओलीनिकट नेता खगराज अधिकारीको नाम सहइन्चार्जको सूचीमा छैन । यसअघि सहइन्चार्ज रहेका अधिकारी स्वयंले प्रदेश सहइन्चार्जमा नबस्ने इच्छा देखाएका हुन् ।
‘उहाँले प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई आफू सहइन्चार्ज नबस्ने भनेर भन्नुभएको थियो । उहाँ (अधिकारी) कै इच्छाले प्रदेशमा जिम्मा नदिइएको हो,’ नेता अधिकारीनिकट स्रोतले भन्यो । प्रदेशमा बस्न इच्छा नदेखाएका अधिकारीले केन्द्रमा जिम्मेवारी चाहेका छन् ।
नेकपा हुँदा प्रदेश इन्चार्ज रहेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जिम्मेवारी यथावत छ । माओवादीतर्फका नेता हितराज पाण्डे अध्यक्ष थिए । एमालेमा जिम्मेवारी हेरफेरअनुसार पार्टीको प्रदेश अध्यक्ष पूर्वखेलकुदमन्त्री जगत विश्वकर्मा र सचिव गोविन्दबहादुर नेपाली भएका छन् । गत २८ फागुनमा पार्टीको केन्द्रीय बैठकले नेकपा केन्द्रीय सदस्य विकलाई प्रदेश अध्यक्ष तोकेको थियो ।
उनले गत १० चैतमा पोखरा नयाँबजारस्थित प्रदेश कार्यालय पुगेर पदभार ग्रहण गरेका थिए । एमाले सचिव रहेका नेपाली तत्कालीन माओवादी र एमाले एकीकरण भएपछि पनि सोही जिम्मेवारीमा थिए । नेपाली हाल गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङका राजनीतिक सल्लाहकार छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij