२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समर्थन लिएर आफूले सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि निवेदन दिएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेका नेताहरू नेपाल र खनाल पनि २३ फागुनमा सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन हुनुपर्ने पक्षमा रहेको बताए ।
उनले आफूहरूले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन लाग्दा अदालतले गरेको फैसलाले आफूसहित नेपाल र खनाल पनि चिन्तित बनेको बातए ।
‘हामीले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै लागेका बेला सर्वोच्चले नेकपा खारेज गर्दै एमाले र माओवादी ब्युँताइदियो,’ उनले भने, ‘अदालतको यो फैसलाबाट माधव र झलनाथजीहरू पनि खुसी हुनुहुन्न । त्यसैले फैसला पुनरावलोकन होस् भनेर अदालतमा निवेदन दिएको छु ।’
उनले एमालेकै खनाल र नेपालहरूको अदालतको फैसला पुनरावलोकन होस् भन्ने मत रहेकाले अदालतले पनि यो कुरा बुझ्नुपर्ने जरुरी भएको बताए । प्रचण्डले २३ फागुनको सर्वोच्चको फैसलालाई नाटकको संज्ञा पनि दिए ।
‘ओलीलाई प्रधानमन्त्रीबाट हटाउन संसद सचिवालयमा नेकपाका बहुमत सांसदको हस्ताक्षरसहित दलको नेताबाट हटाइएको सूचना दर्ता गरेर फर्किँदा फर्किँदै अदालतले हामीलाई दुईवटा पार्टी बनाइदियो,’ उनले भने, ‘यो कस्तो नाटक हो ? ’
उनले आफूहरूले दुईतिहाइ बहुमत केन्द्रीय कमिटी सदस्यको निर्णयले अध्यक्षबाट हटाएको ओलीलाई अदालतले फेरि अध्यक्ष बनाइदिएको बताए । उनले माओवादी केन्द्र मात्रै नभएर एमालेका बहुमत मान्छे अदालतको फैसला पुनरावलोकनको पक्षमा रहेको दाबी गरे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij