Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

नेपाल र रावललाई ओलीले डण्डा बर्साएपछि झाँक्री सहितका क-कसले गरे ओलीको झारफुक ?

नेपाल र रावललाई ओलीले डण्डा बर्साएपछि झाँक्री सहितका क-कसले गरे ओलीको झारफुक ?


  • 6.1K
    Shares

    नेपाल र रावललाई ओलीले डण्डा बर्साएपछि झाँक्री सहितका क-कसले गरे ओलीको झारफुक ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेपछि नेपाल समूहका नेताहरु एकाएक ओलीप्रति आक्रामक भएका छन् । अनुशासनविपरीत गतिविधि गरेको भन्दै ओलीले सोमबार नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्बनको निर्णय गरेका थिए । योसँगै नेपाल समूहका नेताहरु आक्रामक भएका हुन् । 

    प्रधानमन्त्री ओलीको निर्णयप्रति नेपाल समूहका नेता योगेश भट्टराई, भीम रावल, ठाकुर गैरे, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र नेतृ रामुकारी झाँक्री ओलीप्रति आक्रामक देखिए । नेकपाको एकता भंग गरेपछि ब्यूँतिएको नेकपा एमाले विभाजनको संघारमा पुगेको महसुुस  गर्न थालिएको छ । पार्टी अध्यक्ष ओली एकलौटी ढंगले चलेको भन्दै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तीव्रताको साथ अगाडि बढाइरहेको छ । 

    ओलीले एकलौटी रुपमा फागुन २८ गते बैठक बसेर माओवादी केन्द्रबाट आफ्नो समूहमा उभिएका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेपछि एमालेभित्रको विवाद चर्किएको हो । त्यसपछि नेपाल समूहले चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गरेर ओलीको कदमविरुद्ध पछि नहट्ने निष्कर्ष निकालेको थियो । यता एमालेका वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीसँग आफूलाई हटाउने अधिकार नभएको बताएका छन् भने नेता रावलले आफूलाई गरेको कारवाही स्वीकार्य नहुने बताएका छन् ।
    अध्यक्ष ओलीले आफूमाथि गरेको कारबाहीबारे सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेपालले ओली सिंगो पार्टीको नभएर गुटको मात्र अध्यक्ष भएको दाबी गरेका छन् ।

    ‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन । यस बारेमा मलाई जानकारी पनि छैन । ओली एमालेको अध्यक्ष नै होइनन्,’ नेता नेपालले भने । ओली अहिले सिंगो पार्टीको नभइ गुटको अध्यक्ष भएको भन्दै नेपालले ओलीले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दाबी गरे । केन्द्रीय कमिटी नै विघटन गरेका व्यक्तिले कारवाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनको भनाइ छ ।

    माधवकुमार नेपाल र आफूलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरे । नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष आफैँ अवैधानिक भएको भन्दै रावलले ओलीले पार्टीको नीति र विधानको खिल्ली उडाएको आरोप लगाएका छन् ।

    ‘पहिलो चरणमा संविधान र नेकपाको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेका छन्’ रावलले भने, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी ‘कू’ मृत्यु हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रति तावेदारी हो ।’

    त्यस्तै एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई घुमाउरो अर्थमा ‘कमजोर’ संज्ञा दिएकी छन् । पार्टीको विधानविपरीत गएको भन्दै प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाल र रावललाई निलम्वन गरेपछि झाँक्रीले भनिन्, ‘कमजोरहरूको अन्तिम अस्त्र हो जोडले चिच्याउने, गाली गर्ने, अरूलाई तल देखाउने र कारबाही गर्ने । हेक्का होस्, पृथ्वी गोलो छ ।’  

    ‘कारवाही र सजायँ कमजोर सत्ताको अन्तिम अस्त्र हो ! परिणाम उल्टो हुने निश्चित छ ! फर्कनु नै कल्याण हुने छ !’ योगेश भट्टराईले ट्वीटरमा लेखेका छन् । एकता संघर्ष र रुपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको नेपाल समूहका नेता ठाकुर गैरेले बताएका छन् । ‘नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ । कारवाहीको बाटो होइन सम्वादको बाटो रोजौ,’ उनले भने ।

    प्रकाशित मिति :चैत्र १७ २०७७ मंगलवार - १५:०९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij