२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले गत चैत ८ गते सोधेको स्पष्टीकरणको जवाफ नेता घनश्याम भुसालले मंगलबार फर्काएका छन्। शत्रु देशको नागरिकलाई पठाइएको जस्तो ओलीको पत्रको जवाफ लेखिरहनु आवश्यक नभए पनि आरोपहरु कति पूर्वाग्रही छन् भने पार्टी पंक्तिलाई जानकारी गराउन आफूले पत्रको जवाफ लेखेको भुसालको भनाइ छ।
११ पृष्ठको जवाफमा भुसालले ओलीको कार्यशैलीको विषयलाई उदाहरणसहित प्रस्ट्याएका मात्रै छैनन्, उनको पक्षमा रहेका दोस्रो तहका नेताको पनि चरित्र चित्रण गरेका छन्। भुसालले उनीहरुलाई राज्य दोहनमा पारंगत भइसकेको आरोप लगाएका छन्। भुसाल ओली सरकारमा कृषी मन्त्री भईसकेका ब्यक्ति हुन्।
"तपाईंसँग असहमत दोस्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ," भुसालले लेखेका छन्, "तपाईंसँग अहिले दोस्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केही धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भइसकेका छन्। उनीहरु जे गर्छन्, राजनीतिको व्यापार गर्छन् ।"
ओली समूहमा रहेका केही नेताहरु लामो समय मूलतः राजनीतिक आदर्शले प्रेरित भएर संघर्ष गरेर आएका र तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउने र त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्थ्यो भन्ने भुसालको भनाइ छ।
"तपाईंका असहिष्णु छायाँमुनि टाक्सिँदै गएर उनीहरु केवल तपाईंका आदेशपालक जमातमा परिणत हुँदै गएका छन् । उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गइरहेको छ। उनीहरु जुन कुरा देख्छन्, त्यो बोल्न सक्दैनन्, जुन कुरा बोल्छन् त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ। यसरी उनीहरुको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ। सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ। यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ। तपाईंको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरू जम्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो," भुसालले ओलीलाई भनेका छन्।
ओलीले व्यक्तिगतरुपमा कसैले कुनै सहमति वा सम्झौता गरेका थिए भने उसबाट पाउनुपर्ने पाएपछि उसकै विरुद्ध षडयन्त्र गर्ने गरेको आरोप लगाइएको छ। वामदेव गौतमको उदाहरण दिँदै उनले भनेका छन्, "आठौं महाधिवेशनमा तपाईं पराजित भएपछि वरिष्ठ नेता बन्न तपाईंले के-के गर्नुभयो त्यसको एउटा साक्षी म आफैं छु। मैले हेर्दा तपाईंको एउटा खतरनाक ग्रन्थी के छ भने तपाईंले जसबाट फाइदा लिनु हुन्छ, अन्त्यमा उसैलाई ठुँग्नु हुन्छ।"
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij