२०८२ माघ १३ गते मंगलवार
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिले निर्धारण गरेको समय अनुसार क्षेत्रीय र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यताको विवरण सूचीकृत नगरेसँगै कार्यतालिका प्रभावित बनेको हो ।
नयाँ सदस्यको नाम ‘इन्ट्री’ गर्ने अधिकार क्षेत्रीय कार्यसमितिलाई छ भने नवीकरणको अधिकार जिल्ला कार्यसमितिलाई छ । नयाँ र पुराना दुवैको नाम ‘इन्ट्री’ गर्न यस पटकदेखि प्रविधिको विकास गरिएको छ ।
एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लालाई नवीकरण र नयाँ सदस्यता वितरणको समयावधि फागुन २८ सम्मलाई छुट्याइएको थियो । एक भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाले केन्द्रमा नाम पठाउने अवधि चैत्र १० गतेसम्मलाई तोकिएको थियो । निर्धारित मितिमा क्रियाशील सदस्यताको कार्य टुंगिन नसकेसँगै अन्य कार्यतालिका प्रभावित हुने भएको छ ।
सदस्यता टुंगिएको भए हाल जिल्ला तहले छानबिनका लागि परेका उजुरीउपर प्रारम्भिक अध्ययन गर्ने समय थियो । प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची केन्द्रमा पठाउने अवधि चैत अन्तिमसम्मलाई तोकिएको थियो । प्रारम्भिक छानबिनको चरणमा कार्यतालिका प्रवेश गर्नै पाएको छैन ।
क्रियाशील सदस्यता छानबिन समितिका सदस्य प्रदीप पौडेलले भने, ‘पुरै नाम आइसकेपछि मात्रै छानबिनको प्रक्रियामा जाने हो। कहिलेसम्म नामावली आउँछरु कहिले छानबिन गर्ने ?’
सोमबारसम्म करिब ५ लाख नाम सूचीकृत भएका छन् । सप्तरी, सिरहा, धनुषा, बारा, रसुवा, बर्दिया, बाँके, रुकुम पूर्व र डोल्पाले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सुरु नै गरेका छैनन् । क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य सबैभन्दा बढी गण्डकी प्रदेशले टुंग्याएको छ। गण्डकीले ७० प्रतिशत बढी कार्य सक्दा प्रदेश २ ले १० प्रतिशत हारहारीमा काम सकेको छ ।
क्रियाशील सदस्यहरूको नामावली केन्द्रमा आइसकेपछि त्यसउपर उजुरीका लागि समय उपलब्ध हुन्छ । उजुरी आव्हान गर्ने समयावधिमा प्रवेश गर्न नसक्नु क्रियाशील सदस्यता नटुंगिनुको कारण रहेको छ। छानबिन समितिले आफ्नो कार्य सकेर जेठ मसान्तसम्म नामावली केन्द्रीय सभापतिलाई बुझाउनुपर्नेछ। तोकिएको समयमा छानबिन गरी नामावली बुझाउन नसकिने कारणसहित समिति सदस्यले शीर्ष नेतालाई जानकारी गराइसकेका छन् ।
क्रियाशील सदस्यता विवाद कांग्रेसका सबै महाधिवेशनमा विवादमा पर्ने मुख्य विषय रहेको छ। पार्टी भित्रका गुट, समायोजन कार्यको विवाद, केन्द्रीय निर्देशिकाको उल्लंघन लगायतले यसपटक क्रियाशील सदस्यताको विवाद आउने समिति सदस्यहरुको आकलन छ। क्रियाशील सदस्यता वितरणमा १३औं महाधिवेशनमा देखिएका विवाद पनि केही स्थानमा थाँती राखिएको थियो।
प्रादेशिक संरचना अनुसार संगठन समायोजन गर्दा अपनाइएको विधिलाई उल्लंघन गरिएको नयाँ प्रकारका उजुरी यसपटक हुनेछन्। ‘उजुरी कस्तो प्रकारका पर्छन् भनि अहिले नै सबै किटान गर्न सकिन्न । यसपटक धेरै विवाद आउने देखिन्छ’, क्रियाशील सदस्यता छानबिन समिति सदस्य पौडेलले भ ने। पार्टीले तय गरेको मापदण्ड उल्लंघन तथा प्रक्रिया पुरा नगरी क्रियाशील सदस्यता वितरण गरिएको भन्दै उजुरी आउनु स्वाभाविक भएको पौडेलले बताए ।
१३औं महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्यता छानबिन गर्न नरहरि आचार्यको छानबिन समितिलाई ७ महिना लागेको थियो। आचार्य तुलनात्मक रुपमा विवादरहित व्यक्ति थिए। यसपटक स्वार्थ समूहले क्रियाशील सदस्यता छानबिनलाई प्रभावित पार्नसक्ने आशंका पनि छ ।
बढे युवा सदस्य
कांग्रेसले यसपटक १३औं महाअधिवेशन भन्दा शतप्रतिशत क्रियाशील सदस्यता वृद्धि गर्ने निर्णय गरेको छ । सदस्यता वृद्धि गरेसँगै त्यसउपर उजुरी बढ्नु स्वभाविक पनि देखिन्छ। पार्टीभित्रका समूहले आ(आफ्नो पक्षबाट सदस्यता बढाउने प्रयत्न गर्ने तथा अर्को पक्षकाले उजुरी दिने प्रचलन कांग्रेसमा पुरानै हो। ‘समस्या अघिल्लोपटक भन्दा बढ्छ। समय हामीलाई ७ महिना होइन। १७ दिन पनि छैन’, पौडेलले भने। ९० प्रतिशत उजुरी आउनै बाँकी रहेको पौडेलले जानकारी दिए ।
असार ७ भित्र क्रियाशील सदस्यताको टुंगो लगाई तल्लो तहदेखि अधिवेशन सुरु गर्ने कार्यतालिका बनाइएको छ। महाधिवेशनका लागि तोकिएको अन्तिम मिति प्रभावित नहुने गरी पुनः कार्यतालिका संशोधन गर्न लागिएको छ। कार्यतालिका संशोधनकै लागि केन्द्रीय समितिको बैठक चैत २० का लागि बोलाइएको छ ।
क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यमा ४० वर्ष उमेर समूह भन्दा मूनिका ३७ प्रतिशत रहेका छन्। यसपटक युवा उमेर समूहका क्रियाशील सदस्यता बढ्ने आकलन छ । धेरै युवाले क्रियाशील सदस्यता लिएको भन्दै नेता कृष्णप्रसाद सिटौलाले खुशी व्यक्त गरे। ‘यो राम्रो पक्ष पनि हो । ठूलो संख्यामा कांग्रेसमा युवाहरू क्रियाशील सदस्यतामार्फत् प्रवेश गरेका छन्। पार्टी भविष्यका लागि यो खुशीको कुरा हो’, सिटौलाले भने ।
वडा अधिवेशनका लागि असार २० तोकिएको छ। गाउँरनगरपालिकाको अधिवेशन असार २२ मा हुने गरी समय निर्धारण गरिएको थियो । प्रदेश सभा क्षेत्रीय अधिवेशन असार २५ गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा असार २७ गते अधिवेशन गरिने गरी मिति तय गरिएको थियो । साथै, एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन साउन ६ गते गर्ने गरी समय तोकिएको छ। केन्द्रीय महाधिवेशन भदौको ७ देखि १० सम्म हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij