Logo

२०८२ माघ १३ गते मंगलवार

२०८२ माघ १३ गते मंगलवार

अदालतले छुट्टयाईदिए पछिको बीस दिनमा ९ पटक भेटेका प्रचण्ड र माधवको किन चल्दैछ यति बिधी चोचोमोचो ?

अदालतले छुट्टयाईदिए पछिको बीस दिनमा ९ पटक भेटेका प्रचण्ड र माधवको किन चल्दैछ यति बिधी चोचोमोचो ?


  • 5.7K
    Shares

    अदालतले छुट्टयाईदिए पछिको बीस दिनमा ९ पटक भेटेका प्रचण्ड र माधवको किन चल्दैछ यति बिधी चोचोमोचो ?

    काठमाडौँ । २० दिन अघिसम्म एकै पार्टीमा रहेका प्रचण्ड र माधव नेपाल अदालतको आदेश पछि फरक फरक पार्टीमा छन्  । प्रचण्ड र नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तरसंघर्षमा एउटै मोर्चामा थिए ।

    ऋषि कट्टेलले  आफनो नाममा दर्ता ‘नेकपा’ नामको पार्टी निर्वाचन आयोगले ओली र प्रचण्डलाई दिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यो रिटमा अदालतले कट्टेलको पक्षमा आदेश सुनायो । त्यक्तिमात्रै होइन, अदालतले नेकपाको एकता नै बदर गर्ने गरी एमाले र माओवादीलाई अलग–अलग पार्टीमा रूपान्तरित गरिदियो ।

    त्यसपछि भने एउटै मोर्चामा सहकार्य गरिरहेका प्रचण्ड र नेपालको बाटो अलग–अलग भयो । अदालतको आदेशपछि सवैभन्दा वढी नेता नेपालको राजनीतिक जीवन संकटमा पर्यो । अदालतको आदेशपछि नेपालले भनेका थिए, –‘टार्गेट त मलाई बनाएको देखियो । केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई रु कसरी आइपरयो त्यो स्थिति ?’

    हुन पनि अदालतको आदेश आएको अर्को दिन मन भारी बनाउँदै नेपाल समूहका नेताहरूले प्रचण्डसँग सहकार्य तोड्न बाध्य भए । एमाले नै आफनो पार्टी भएको भन्दै नेपालसहितका नेताहरू पेरिसडाँडामा हुने छलफलमा सहभागी हुन छाडे ।

    त्यसयता नेपाल, झलनाथ खनाललगायतका नेताहरूलाई अहिलेसम्म प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले भाउ दिएका छैनन् । समूहबद्ध भएर आउँदासम्म पेलेरै जाने नीति ओलीले लिएका छन् । नेपाल पनि ओलीसँग जुधेरै जाने नीतिमा देखिन्छन् । अहिलेसम्म नेपाल पनि आफ्नो नीतिमा टसमस गरेका छैनन् ।

    ओलीले नेता नेपालसहितका भिम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई १० बुँदे स्पष्टीकरण सोधेका थिए । तर नेपालले उल्टै ओलीमाथि प्रतिप्रश्न गर्दै जवाफ पठाएका छन् । ओलीतिर औंलो सोझ्याउँदै गर्दा नेपालको उठबस प्रचण्डसँग पातलिएको छैन । एकाध पार्टीमै रहेर ओलीसँग अन्तरसंघर्ष गर्दाकै झै भेटघाट बाक्लै छ । २० दिनको बीचमा ९ दिन नेपालले प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    प्रचण्डसँग भारी मन लाएर बिदाइ हुँदै गर्दा नै नेपालले भनेका थिए, ‘हामी (प्रचण्डसँग) टेक्निकल्ली टाढा हुनुपरयो । हाम्रो संघर्ष फेरि पनि विचार, सिद्धान्त, विधिकै सन्र्दभमा हुन्छ । एमालेभित्र फेरि पनि केपी प्रवृतिविरुद्ध संघर्ष गरिन्छ । सकेसम्म पार्टी एकतालाई पूर्ववत् अवस्थामा पुरयाउन पहल गर्छौं । सकिएन भने कार्यनीतिक एकताका लागि पहल गर्छौं, मोर्चाका लागि पहल गर्छौं, हामी छलफल गरेर एकताबद्ध भएरै जाने हो ।’

    नेपालको अभिव्यक्तिमा प्रचण्डले पनि मलामपट्टी लगाउन खोजेका थिए । उनले प्राविधिक रूपमा मात्र आफुहरुलाई अलग बनाइदिएको धारणा राखेका थिए ।

    ‘पार्टी एकताका लागि इतिहासको कालखण्डमा जे निर्णय गरेका थियौं, त्यो सही नै थियो, त्यसमा केपीले गलत ढंगले भूमिका खेलेकाले अहिले यो ठाउँमा आउनुपरयो । हामी क्रान्तिकारी हौं, हामीले जित्दै गएका थियौं, एउटा मोर्चा हारयौं तर हरेश खानुहुन्न ।’ प्रचण्डको भनाइ थियो ।

    यो परिघटनापछि ओली आफ्नै ढंगले अगाडि वढेका छन् । नेपाल पक्षका नेतादेखि सांसदसम्मलाई ओलीले व्यक्तिगत रूपमा सम्वोधन गर्न खोजेका छन् । ‘अब सामुहिक गुट पार्टीभित्र हुन्न । कसैले आफ्ना समस्या राख्न चाहे व्यक्तिगत रूपमा राख्न सक्ने’ ओलीले नेपाल पक्षलाई जवाफ दिएका छन् ।

    यसले ओली–नेपाल सम्बन्ध थप कुँडिने सम्भावना बढेको छ । ओलीले नेपालसँग अझै पनि प्रचण्डसँगको भेटघाटमाथि प्रश्न उठाइरहेका छन् ।

    ‘माधव नेपालहरू सके एमाले कब्जा गरेर, नसके विद्रोह गरेर नेकपा माओवादी केन्द्रसँग एकता गर्न आउनुहुन्छ भन्ने पुष्पकमल दाहालका सार्वजनिक भनाइप्रति तपाईको मौन समर्थन रहनुको रहस्य वा कारण के हो ? यसबीचमा पनि पुष्पकमल दाहालसँगको निरन्तर भेट्घाट जारी रहनुको अर्थ के हो रु’ नेपाललाई एमालेले सोधेको स्पष्टिकरणमा उल्लेख थियो ।

    राष्ट्रिय कार्यकर्ता भेला नगर्न, समानान्तर गतिविधि नगर्न ओली पक्षले निर्देशन गरे पनि त्यसलाई नेपाल पक्षले टेरेको छैन । उसले भातृ सस्थामा धमाधम समानान्तर समिति गठन गदै लगेको छ । महिला, युवा र विद्यार्थीमा समानान्तर समिति नेपाल पक्षले गठन गरिसकेको छ ।

    ओलीसँग नझुक्ने अभिव्यक्ति र एमाले छोडन नसक्ने मनस्थितिको विरोधाभासमा नेपाल यतिबेला छन् । शुक्रबार मात्रै पनि नेपाल पक्षले आफ्ना पक्षका केन्द्रीय सदस्यहरूसँग कलंकीमा बैठक राखेका छन् । अब उनी ओलीलाई केन्द्रीय समिति बैठक बोलाउन दबाब बढाउने रणनीतिमा देखिएका छन् ।

    एकातिर प्रचण्डसँगको भेटघाट घनीभूत बनाउने र अर्कोतिर ओलीसँग पनि अन्तरसंघर्ष चर्काउँदै लैजाने योजनामा नेपाल देखिएका छन् ।

    प्रचण्ड–नेपाललाई सर्वोच्चले अलग धारमा पुरयाइदिए पनि भेटवार्ता रोकिएको छैन । एमाले र माओवादी केन्द्रको पार्टीगत सम्बन्ध यतिबेला राम्रो छैन । ओली र दाहालका बीचमा चर्केको विवादले सम्बन्धमा खटपट ल्याएकोे छ ।

    ओली नेपाललाई प्रचण्डसँग टाढा बनाउन चाहान्छ । तर नेपाल प्रचण्डसँग सम्बन्ध तोडने पक्षमा छैनन् । अदालतको आदेशपछि मन अमिलो बनाउँदै छुटे पनि अदालतको फैसलाको पूनरावलोकनका सन्र्दभमा दुवै नजिक छन् ।

    २४ फागुन यता प्रचण्ड–नेपाल अहिलेसम्म ९ पटक भेटवार्ता गरिसकेका छन् । कतिपय बेला झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलाई पनि साथै राखेर प्रचण्ड नेपालले वार्ता गरेपनि धेरैजसो भेटघाट एक्लाएक्लै गरेका छन् ।

    तर भेटलाई नै गोप्य वनाउन दुई नेताले भेटघाट कहिले ब्यापारी टपेन्द्र तिमल्सिना त कहिले चन्द्रलाल श्रेष्ठको निवासमा गदै आएका छन् ।

    दुई नेताबीचको भेटघाटमा हुने छलफललाई दुवै पक्षले खुलाएका छैनन । ओलीले अझै पनि प्रचण्डकै मतियार बन्न खोजेको आरोप नेपालमाथि लगाउन छोडेका छैनन् ।

    नेपाल पक्षले एमालेभित्रै अन्तरसंर्घष गरेर भए पनि फेरि पनि कम्युनिष्ट पार्टीबीचको एकताका लागि पहलकदमी लिने बताइरहेका छन् । यस अर्थमा पनि नेपालले प्रचण्डसँगको भेटघाटलाई जोगाइराखेका छन् ।

    प्रकाशित मिति :चैत्र १३ २०७७ शुक्रवार - १५:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij