२०८२ भाद्र २४ गते मंगलवार
छिमेकी भारतमा कोरोना संक्रमणको ग्राफ फेरि एक पटक उकालो लागेको छ। कुनै समय दैनिक लाख बराबर संक्रमित फेला परेको भारतमा अहिले विस्तारै संक्रमितको ग्राफ उकालो लागेको हो।
भारतीय स्वास्थ्य मन्त्रालयलाई उल्लेख गर्दै बिबिसीले पछिल्लो २४ घन्टामा ५३ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ। भारतमा कुल १ करोड १७ मानिसमा संक्रमण पुष्टि भएको छ। हाल सक्रिय संक्रमितको संख्या ३ लाख ९५ हजार रहेको छ।
नेपालका २६ जिल्लाले भारतीय सिमाक्षेत्र छोएको छ। भारतसँग नेपालको १ हजार ८ सय ८० किलोमिटर खुला सिमा रहेको छ। ४ सय ६४ किलोमिटर प्रदेश २ मा मात्रै पर्दछ। प्रदेश १, प्रदेश पाँच, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश पनि भारतीय सीमासँग जोडिन्छ।
भारतमा दैनिक रुपमा संक्रमित बढ्दै गएपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्ने देखिएको छ। विगतमा पनि भारतबाट आउने नेपालीमा धेरै मात्रामा संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमण बढेसँगै त्यहाँ कडा प्रतिबन्ध लगाउन सुरु गरिएको छ।
भारतका केही राज्यले कोरोना संक्रमण रोक्न निषेधाज्ञादेखि अन्य सुविधा कटौतीसम्म गर्न थालेका छन्। योसँगै कामका लागि भारत पुगेका नेपालीहरु स्वदेश फर्कन थालेका छन्। नेपालीहरु घर फर्कदा संक्रमण पनि सँगै आउने देखिएको छ।
सीमा जोडिएका जिल्ला प्रशासन कार्यालयहरुले सिमा नाकामा कडाइ गर्न थालेका छन्। भारतसँग सीमा जोडिएका सबै जिल्ला प्रशासनले सार्वजनिक सूचना जारी गरी अत्यावश्यकीय कार्यबाहेक भारत जान आउन रोक लगाउने निर्णय गरेका छन्।
बाँके जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले विवाह र उपचार बाहेक अन्य कामका लागि भारत जान आजदेखि रोक लगाएको बताए। भारतवाट आउने मानिसहरुको स्वास्थ्य जाँच अनिवार्य गरिएको उनको भनाइ छ। भारतबाट आउने लक्षण भएका व्यक्तिलाई र पोजेटिभ देखिएकालाई अस्पाल पठाउने र सामान्य व्यक्तिलाई होम क्वारेनिटनमा बस्ने गरी छोडिएको उनले बताए।
भारतमा देखिएको संक्रमणको असरलाई ख्याल गर्दै भारतमा रोजगारी र किनमेलका लागि जान पूर्णरुपमा रोक लगाइएको सहायक सिडियो उपाध्यायको भनाइ छ।
पर्सा जिल्लाले पनि नेपाल प्रवेश हुने नाकामा कडाइ थालेको छ। प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले सिमा क्षेत्रमा पिसिआर परिक्षण सरु भइसकेको बताए। भेरियन्ट देखिएका सवै क्षेत्रबाट आएमा सन्देहयुक्त मानिसहरुको परिक्षण गर्ने ,ज्वर नाप्ने लगायत कार्य सुरु भएको उनले बताए । चार वटा सीमा क्षेत्रमा स्वास्थ्य डेस्क चालु भएको उनले बताए। लक्षण देखिएका व्यक्तिलाई सीमावाटै अस्पताल पठाउने र नदेखिएकालाई अनिवार्य होम क्वारेनटिनमा बस्ने सहमतिमा छोडिएको उनले बताए ।
भारतको १८ राज्यमा पुष्टि भयो नयाँ भाइरस 'डबल म्युटेन्ट’
हालै मात्र भारतमा नयाँ ‘डबल म्युटेन्ट भेरियन्ट’ कोरोना भाइरस देखिएको छ। भारतको १८ राज्यबाट संकलन गरिएका नमूनामध्ये ७ सय ७१ जनामा नयाँ डबल म्युटेन्ट भेरियन्ट कोरोना भाइरस देखिएको हो। १० हजार ७ सय ८७ नमूना संकलन गर्दा ७ सय ३६ जनामा युके भेरियन्ट, ३४ जनामा दक्षिण अफ्रिका भेरियन्ट र एक जनामा ब्राजिलियन भेरियन्ट भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दक्षिण अफ्रिकामा भेटिएको नयाँ भाइरस पनि जीन स्वीक्वेन्सिङबाट पत्ता लागेको हो। यसले संक्रामक तथा सिकिस्त बनाउन सक्ने भन्ने कुरा पनि पत्ता लागेको थियो। ब्राजिल र युकेमा पनि होल जीन स्वीक्वेन्सिङबाट नै नयाँ भेरियन्ट पत्ता लागेको हो। भारतमा पनि होल जीन स्वीक्वेन्सिङको काम भइरहेको थियो।
भारतमा देखिएको भाइरस कुन भेरियन्टको हो भनेर पत्ता लगाउन भारतले होल जीन स्वीक्वेन्सिङ गरेको थियो। डबल म्युटेशन भेरियन्ट भाइरस भनेको दुई वटा ठाउँमा स्वरुप परिवर्तन भएको हो। भाइरसहरुको स्वीक्वेन्स अर्थात् नम्बर हुन्छ। अहिले भेटिएका भाइरसमा ई४८४क्यू र एल४५२आर देखिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij