२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंका दुई कन्सल्टेन्सीमा छापा मारेको छ । बुधबार विभागले पुरानो बानेश्वरमा रहेको ग्लोबल इन्फो एजुकेसनल भिसा सर्भिस प्रालि र डिल्लीबजारमा रहेको नेक्ट हव फर्दरिङ एजुकेसनल कन्सल्टेन्सीमा छापा मारेको हो ।
विभागका अनुसन्धान अधिकृत मातृका सापकोटाका अनुसार ती दुई कन्सल्टेन्सीले अवैध रुपमा विदेश पठाउने काम गर्दै आएका थिए । “विभागले छापा हानेका यी दुई कन्सल्टेन्सी एजुकेसनल कन्सल्टेन्सी हुन् ।
यिनीहरुले वैदेशिक रोजगारीमा पठाउनको लागि स्वीकृति लिएका छैनन्,” सापकोटाले भने, “युरोपलगायतका विभिन्न देशमा पठाउने भनी पैसा उठाएको भन्दै विभागमा उजुरी परेपछि हामीले छापा मारेका हौँ ।”
विभागबाट छापा मार्न आउने सुइँको पाएपछि ग्लोबल इन्फो एजुकेसनलका सञ्चालक भने कार्यालय बन्द गरेर भागेका थिए । उक्त कन्सल्टेन्सीका सञ्चालकलाई फोन सम्पर्क गर्दा कार्यालय एक दिन बन्द रहेको जनाएका थिए ।
सञ्चालक कार्यालयमा उपस्थित नभएपछि विभागले ग्लोबल इन्फो एजुकेसनल सिल गरेको छ । उक्त कन्सल्टेन्सीले युरोपलगायतका १०० भन्दा धेरै देशमा पठाउने भनी पैसा उठाउने गरेको पाइएको विभागले जनाएको छ ।
यस्तै, नेक्ट हव फर्दरिङमा विभागको टोली पुग्दा लिथुवानिया जानको लागि भन्दै एकजना सेवाग्राहीले ७० हजार रुपैयाँ अग्रिम बुझाएको पाइएको सापकोटाले बताए । विभागबाट छापा मार्न गएको टोलीले उक्त कन्सल्टेन्सीबाट तीनथान पासपोर्ट, एकथान कम्प्युटरको सीपीयू र केही कागजात बरामद गरेको जनाइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij