२०८२ माघ १२ गते सोमवार
गण्डकी प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराइएको छ।
प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा आयोगका नवनियुक्त अध्यक्ष विष्णुप्रसाद नेपाललाई उच्च अदालत पोखराका मुख्य न्यायाधीश रमेश पोखरेलले शपथ गराए।
आफ्नो शपथलगत्तै अध्यक्ष नेपालले सदस्य कल्पना लम्साललाई पद तथा गोपनीयताको शपथ गराए। गण्डकी सरकारले यही चैत ७ गते आयोगका पदाधिकारीमा उनलाई नियुक्त गरेको थियो।
विसं २०७६ साउनमा गण्डकी प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ गण्डकी प्रदेशसभाबाट पारित भएको थियो।
नवनियुक्त पदाधिकारीले आजै पोखराको मुस्ताङचोकस्थित आयोगको कार्यालयमा पदभार ग्रहण गरेका छन्। आयोगका पदाधिकारीको कार्यावधि नियुक्ति भएको मितिले ६ वर्षको हुने व्यवस्था छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij