२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । युवती भनेपछि मरिहत्ते गर्ने पुरुषको पहिचान गरि तिनैलाई बोलाएर भिडियो खिच्दै ब्याकमेल गर्ने गिरोह केही साता अघि प्रहरी कब्जामा पर्यो। ‘हनी ट्रयाप’मा पारी ब्ल्याकमेल गरेको आरोपमा ललिता र कल्पना पक्राउ परेको तीन दिनपछि अर्थात आइतबार सोही आरोपमा जाजरकोटकी २८ वर्षीया संगीता शाह, सिन्धुपाल्चोककी १८ वर्षीया सुस्मिता गिरी र नुवाकोटका २१ वर्षीय शंकर खनाल पक्राउ परे।
यी तीनजनाको गिरोहले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेस्ट हाउसमा बोलाएर कोठाभित्र सँगै बसेको र अश्लिल हर्कत गरी साथीलाई गोप्य तरिकाले भिडियो खिच्न लगाई सो भिडियो पीडितलाई पठाएर बार्गेनिङ गरेको प्रहरीले जनाएको छ।
उनीहरुले आठ लाख रुपैयाँ नगद तथा शंकरको नाममा रहेको बैंक खातामा पाँच लाख रुपैयाँ राख्न लगाएको प्रहरीको भनाइ छ। त्यही भिडियो देखाएर धम्क्याउँदै युवतीहरूले पटक–पटक गरी दुई पुरुषसँग ८ लाख रुपैयाँ असुल गरेको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी कृष्ण कोइरालाले बताए। तीनै जनामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१८ वर्षकी सुस्मिताको अपराध यात्रा
उमेरले भर्खरै १८ वर्षकी भइन् सिन्धुपाल्चोककी, सुस्मिता गिरी। गोंगबुमा बस्दै आएकी सुस्मिताले सोचेको पनि थिइनन् होला प्रहरीको फन्दामा पर्छु भनेर। आइतबार एकाएक प्रहरीले उनलाई पक्राउ गर्यो।
बेला–बेला गोंगबुमा रहेको दोहोरीहरु जाने गर्थिन्। तीन महिनाअघि दोहोरी जाने क्रममा संगीता र शंकरसँग भेट भयो। गोरो, सानी र राम्री देखेपछि उनीहरुले सुस्मितालाई आफ्नो नजिक ल्याउने कोसिस गरे। सोही क्रममा शंकरले आफूसँग भएको आइफोन गिफ्ट दिए।
सुस्मिता स्वयंले शंकरले आफूलाई आइफोन गिफ्ट दिएको प्रहरीसमक्ष बताएकी छन्। उनले भनिन्, ‘कहाँबाट किनेर ल्याएका हुन् केही थाहा छैन्। आइफोन किनेको सबै बट्टाहरु मसँग सुरक्षित छ।’
त्यसपछि उनीहरुको सम्बन्ध प्रगाढ भयो। उनीहरु तीनैजना एकअर्काको कोठामा आउनेजाने गर्न थाले। करिब २ हप्ताअघि सुस्मिता र संगीताले कपन र इमाडोल बस्ने दुई पुरुषलाई चावहिलस्थित एक गेष्ट हाउसमा भेट्न बोलाए।
विभिन्न माध्यमबाट नजिकिएका कपनका पुरुष पनि उनीहरूलाई भेट्न सोही लोकेशनमा पुगे। जतिबेला इमाडोल बस्ने पुरुष लोकेशनमा आइपुगेका थिएनन्। त्यसपछि संगीताले सोही मौकामा ती पुरुषलाई अंगालो हाल्न थालिन्।
योजनाबद्ध रुपमा उनीहरुले उनीसँग बसेको भिडियो गोप्यरूपमा खिचे। त्यसैगरी इमाडोल बस्ने पुरुष पनि आए। कपनका पुरुषलाई जस्तै अंगालो हाल्ने काम संगीताले गरिन् भने लुकेर भिडियो खिच्ने काम सुस्मिताले गरिन्।
विडम्बना, त्यसको दुई दिनपछि ती युवती अर्थात सुस्मिताले दुवै जनालाई म्यासेन्जरमा एउटा भिडियो पठाइन्। भिडियो हेरर दुवैजना छाँगाबाट खसे। उक्त भिडियो गोप्यरूपमा योजनाबद्ध रुपमा खिचिइएको उनीहरुले थाहा पाए।
ती पुरुष दुवैजना सरकारी कर्मचारी हुन्। त्यही भिडियो देखाएर धम्क्याउँदै युवतीहरूले पटकपटक गरी ती युवकसँग ८ लाख रुपैयाँ असुल गरे। आफ्नो नाममा पठाउँदा पछि समस्या हुने डरले शंकरको नाममा चेक काट्न लगाउँथे।
८ लाख बुझाउँदा पनि उम्किने छाँट नदेखिएपछि ती पुरुषहरुले प्रहरीको महानगरीय अपराध महाशाखामा उजुरी गरे। प्रहरी टोलीले दुवै युवतीसहित तीनजनालाई आइतबार पक्राउ गरेको हो।
संगीता र शंकरको निर्देशनमा सुस्मिताले यसअघि पनि केटाहरुलाई गेष्ट हाउसमा बोलाउँदै भिडियो खिच्दै फसाउने गरेको पाइएको छ। ‘उनको आइफोनबाट थप ‘क्लू’ खुल्नसक्छ,’ परिसरका मुद्दा शाखाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने।
यता, सुस्मिताले आफ्नो यो काम पहिलोपटक भएको दाबी गरेकी छन्।
‘सुस्मिता’ नक्कली नाम, उमेर कति ?
मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौंमा भेटिएकी सुस्मिताले नागरिकतामा आफ्नो नाम अर्कै रहेको बताइन्। ‘नागरिकतामा सोना नाम छ। तर, सबैले सुस्मिता भनेर चिन्छन्,’ उनले भनिन्।
त्यतिमात्र होइन् स्वयम् उनले आफ्नै दिदीको नामसमेत सुस्मिता रहेको बताइन्। आफ्नै दिदी सुस्मिताको ठमेलमा दोहोरी रहेको र बेलाबेलामा दिदीको दोहोरीमा पनि जाने गरेको उनको भनाइ छ।
अपराध महाशाखाले पक्राउ गरेको विवरण सार्वजनिक गर्ने क्रममासमेत सिन्धुपाल्चोककी २१ वर्षीया सुस्मिता गिरी भनेको छ। तर, सुस्मिता स्वयम्ले आफ्नो जन्म २०५८ सालको रहेको दाबी गरेकी छन्।
‘मेरो जन्म २०५८ सालको हो। तर, नागरिकता बनाउँदा बढाएर बनाएको हुँ २०५६ साल।’, उनले भनिन्। यसरी उनको एकपछि अर्को बयानहरु बाझिँदै आएको छ।
पछिल्लो समय अश्लिल भिडियो खिचेर बार्गेनिङ गर्ने गिरोह नै सक्रिय भएको प्रहरीको दाबी छ। गेष्ट हाउसमा बोलाएर लुकेर भिडियो खिच्ने र पैसाको बार्गेनिङ गर्ने समूहलाई प्रहरीले पक्राउ गरेपछि अपराधको नयाँ शैली बाहिरिएको हो।
पछिल्लो समय होटलमा बोलाएर अश्लिल हर्कत गर्न महिला आफैंले उक्साउने, सहयोगीले लुकेर भिडियो खिच्ने र खिचिएको भिडियो म्यासेन्जरमा पठाएर लाखौं बार्गेनिङ गर्ने गरेको पाइएको एसपी कोइरालाले बताए।
नेपालमा ‘हनी ट्रयाप’ का घटना बाक्लै हुने गरे पनि प्रहरीले यसको आधिकारिक तथ्याङ्क राखेको छैन।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij