२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । इङ्ल्यान्ड सेक्युरिटी गार्डमा पठाइदिने भन्दै सिर्जना अधिकारीले बीस करोड ठगी गरेको घटना बाहिरिएको छ। अधिकारी नेपाल बिद्यार्थी संघको नेता र कांग्रेस नेत्री सुजाता कोइरालाको स्वकिए सचिव भएको एक पिडितले बताएका हुन्। पछिल्लो सात महिनामा मात्रै झन्डै २० करोडको दाबीसहित विभागमा उजुरी परेको छ । २० करोडभन्दा बढी रकम विदेश जानेहरुबाट ठगी भएको गुनासो विभागमा पुगेको छ ।
विभागमा केही समय अगाडि मात्रै इङ्ल्यान्ड सेक्युरिटी गार्डमा लैजाने भनेर काठमाडौंको तीनजुरे म्यानपावरले ठगेको विभागले जनाएको छ । ठगिनेमा अधिकांस नेपाली सेना र प्रहरीका पूर्वकर्मचारी रहेका छन् ।
उक्त म्यानपावरबाट पीडित जगत न्यौपानका अनुसार मासिक अढाइ लाख कमाइ हुने सपना देखाएर इङ्ल्यान्ड सेक्युरिटी गार्डमा पठाइदिने भन्दै आफूहरुलाई ठगी गरिएको थियो ।
“तिनजुरे म्यानपावरकी सञ्चालिका सिर्जना अधिकारीले राम्रो काम र कमाइ हुन्छ भनेपछि हामीले उनले भने जति पैसा दियौँ,” उनले भने “तर हामीलाई त दुबइ लगेर अलपत्र पारियो ।” तर तीनजुरे म्यानपावरको वेबसाईटमा सिर्जनाको नाम भने छैन।
अधिकारीले इङ्ल्यान्ड सेक्युरीटी गार्डमा भनि ६३ जनाबाट जनही ९ लाखभन्दा बढी पैसा उठाएको विभागले जनाएको छ । एकवर्ष अगाडि इङ्ल्यान्ड लैजाने भन्दै दुबइ पुर्याइएको थियो ।
“हामी गतवर्षको पुसमा दुबई पुगेका थियौँ,” उनले भने “अहिले त नेपालबाट दुबई पुगेका ६३ मध्ये अधिकांश नेपाल पनि फर्किइसके ।”
भिसा नै नक्कली
नेपालबाट सेक्युरिटी गार्डको लागि गएका दुबइ पुगेकाहरुलाई काममा लगाउँछु भन्दै होटलमा राखे । तर उनीहरुले नेपालमा भने जस्तो काम पाएनन् । हामीलाई काम चाहियो भनेर होटलमा नै आन्दोलन गरे पछि उनले काम त पाए । तर, उनको भिसा नै नक्कली रहेछ । त्यो कुरा त्यहाँको प्रशासनले थाहा पायो । प्रशासनले २० हजार दिराम जरिवाना तिर्नुपर्ने वा नेपाल फर्कनुपर्ने बतायो ।
“यसै त भनेजस्तो काम नपाएर समस्यामा थियौँ । दलालले झन् ठूलो भुमरीमा पुर्याए । जरिवाना तिरेर त्यहाँ बस्नुभन्दा त नेपाल नै फर्किनु बेस भनेर उनले आफन्तसँग ऋण गरेर नेपाल फर्किए,” उनले भने ।
नेपालबाट नौ लाख तिरेर दुबई गएका जगत रित्तै फर्किए । झन्डै १० महिनापछि तिहारको छेको पारेर आफु नेपाल आइपुगेको जगत बताउँछन् ।
“ठूलो कमाइको सपना देखाएर नेपालबाट पठाएको तीनजुरे मेनपावरले पैसा फिर्ता गर्ला र ऋणको बोझ कम गरौँला भनेर सोचेको । खै म्यानपावरले पैसा दिने सुर नै गर्दैन । त्यसैले हामीले विभागमा उजुरी हालेका हौँ,” उनले भने ।
चेक त्यो पनि खाली
विभाग र प्रहरी चौकीको शरणमा पुगेपछि तीनजुरे म्यानपावरका सञ्चालकले चेक दिए । “त्यो चेक पनि तीनपटक बाउन्स भइसक्यो । मुद्दा पनि गर्यौँ,” उनले भने ।
एक पटक प्रहरीकहाँ पुगेका म्यानपावर सञ्चालक पैसा बुझाउने सर्तमा छुटेका थिए । त्यसपछि सम्पर्कमा छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij